काडमाडौँ, ३० माघ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले जङ्गली जनावरको आक्रमण, सडक दुर्घटना, आगलागी, भष्ट्राचारलगायतका घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन । मंगलबार बसेको बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पुराना दलले नै संसदीय अभ्यास बिर्सेको आरोप लगाएका छन । प्रतिनिधिसभाको बैठकमा दलगत रूपमा धारणा राख्ने क्रममा सांसद झाले संसद्लाई प्रभावकारी बनाउन नसक्नुमा सत्तारुढ दलकै कमजोरी रहेको बताएका हुन ।
“आज संसद्मा नयाँ योजना, नीतिबारे छलफल होस् र आफ्ना विचार राख्न पाइयोस् भन्ने चाहना थियो तर पुराना दलहरूको शैलीका कारण संसद्कै प्रभावकारिता माथि प्रश्न छन”, उनले भने, “सदनको आफ्नै विशिष्ट महत्व र गरिमा छ । यहाँ सङ्ख्या होइन सिद्धान्त महत्वपूर्ण हो । तपाईहरू हामीलाई सदनमा अराजक नहोउ भन्नुहुन्छ, हामी भएका छैनौँ । हामीले सदन अवरोध गरेका छैनौँ ।”भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सवालमा नेपाल थप कमजोर हुँदै गएको पनि उनले बताए ।
यस्तै, प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका रामकृष्ण यादवले राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै राजनीतिक अस्थिरताको कारक भएको बताएका छन ।
सांसद यादवले मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताए । उनले भने, “सत्ता गठबन्धनको मुख्य उद्देश्य राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधन हो । मुख्य कारण राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै हो । जनतालाई गलत सूचना दिने र भ्रममा पार्नाले राजनीतिक अस्थिरता भएको हो ।”
सांसद यादवले संसद्को मुख्य काम भनेकै कानुन निर्माण गर्नु हो तर सुस्त गतिमा भइरहेको धारणा राखे । “
जनताका लागि आवश्यक कानुन समयमा निर्माण नहुँदा जनताले न्याय पाउँदैनन्, यसैले छिटोछरितो रूपमा विधेयक पारित गरौँ । सरकार निर्माण भएको सात महिना भएको छ । उद्देश्यअनुसार पूरा गर्न सरकारले कार्यको गति बढाओस् ।
सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन भयो कि भएन भनेर मूल्याङ्कन, समीक्षा र निर्देशन दिन सरकारलाई अनुरोध गर्छु,” उनले भने । उनले आव २०७४÷७५ मा हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको योजनामा राखिएको तर अहिलेसम्म अधुरै रहेकाले अविलम्ब सुरू गर्न आग्रह गरे । साथै पुल निर्माणको कार्य पनि सरकारले अघि बढाओस् भन्ने धारणा राखे ।
यस्तै, प्रतिनिधिसभाकोे बैठकमा शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले विद्यमान वन ऐनले जङ्गली जनावरको आक्रमणबाट पीडित हुनेलाई सरकारले राहत र क्षतिपूर्ति दिनुपर्ने स्पष्ट व्यवस्था नरहेकाले सोसम्बन्धी व्यवस्था गरिनुपर्ने बताए । सांसद अन्जनी श्रेष्ठले जङ्गली जनावरको आक्रमण बढेको विषय संसद्मा उठाए । सांसद टेकबहादुर गुरुङले सुक्खायाममा वनमा डढेलोको जोखिम बढी हुने भएकाले त्यसको न्यूनीकरण र आगलागी नियन्त्रणमा तदारुकता देखाउनुपर्नेमा जोड दिए ।
सांसद अनिशा नेपालीले आन्दोलनरत स्वर्गद्वारी गुठीका मोही किसानको जायज माग सम्बोधन गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन । सांसद अस्माकुमारी चौधरीले पनि स्वर्गद्वारी गुठी पीडित किसान काठमाडौँ र जिल्लामा समेत आन्दोलन गरिरहेकाले उनीहरुका माग सुनुवाइ हुनुपर्ने धारणा राखिन ।
सांसद अम्बिका बस्नेतले काठमाडौैँ उपत्यकामा बालबालिका हराउने र अपहरणमा पर्ने घटना सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरिन । सांसद अम्मरबहादुर थापाले सरकारले पुँजीगत बजेट खर्च बढाउनुपर्नेमा जोड दिए । बजेट विनियोजनमा कुशलता नहुँदा खर्च गर्न सक्ने ठाउँमा बजेट नहुने तर खर्च गर्न नसक्ने ठाउँमा बजेट दिने प्रवृत्तिको अन्त्य गरिनुपर्ने उनले बताए । जाजरकोट भूकम्प पीडितलाई राहत तथा क्षतिपूर्ति रकम तत्काल उपलब्ध गराउन पनि उनले माग गरे ।
सांसद अमृतादेवी अग्रहरीले विपक्षी दलहरुले सरकारले गरेका राम्रा कामको पनि विरोध गर्ने गरेको आरोप लगाइन । अर्का सांसद अशोककुमार चौधरीले मुलुकलाई कम्लरी मुक्त घोषणा गरिए पनि अझै यो कुप्रथालाई राज्य तहबाटै संरक्षण भइरहेको आरोप लगाए ।
सांसद असिम शाहले विद्यमान सरकार बनेको लामो समय भइसक्दा पनि मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने बताए । भ्रष्टाचारका विभिन्न काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठनको माग उनले राखे । सांसद ईश्वरी घर्तीमगरले पाठेघर र स्तन क्यान्सरको परीक्षणलाई निःशुल्क गरिनुपर्ने माग गरे । सांसद ईश्वरीदेवी न्यौपानेले कैलाली जिल्लाका विभिन्न क्षेत्रमा डुबानको समस्या रहेकाले कर्णालीलगायत नदीमा तटबन्धको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन ।
सांसद उर्मिला माझीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मौलिक हकका रुपमा राखिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन । वीर अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप बढेको विषय उनले उठाए । सांसद ऋषिकेश पोखरेलले हिउँदेबालीका लागि मल, बीउ र सिँचाइको अभाव भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए । मल आयातमा सरकारको एकाधिकार तोडेर निजी क्षेत्रलाई आयात गर्न दिनुपर्ने धारणा उनले राखे ।
सांसद एकनाथ ढकालले आगामी जेठमा आयोजना हुन लागेको सगरमाथा संवादलाई नेपालले जलवायु न्यायको मुद्दा स्थापित गर्नमा प्रयोग गर्न सक्नुपर्ने बताए । सांसद कान्तिका सेजुवालले नेपालगञ्ज भन्सार कार्यालयको जाँचपास मेसिन बिग्रेको लामो समय भइसक्दा पनि मर्मतसम्भार हुन नसकेको विषय संसद्मा उठाइन ।
सांसद कालुराम राईले गर्मीयाममा सर्पदंशका घटना बढ्ने गरेको तर सर्पदंशको उपचारका लागि पर्याप्त अस्पताल नरहेको विषय उठाए । सांसद गणेश पराजुलीले गैरआवासीय नेपालीलाई नागरिकता दिएको विषयमा उनीहरुलाई नेपालमा लगानी गर्नका लागि वातावरण बनाएर त्यसको अधिकतम लाभ लिनसक्नुपर्ने बताए ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले बनेपा–धुलिखेल सडक निर्माणमा ढिलाइ भएकोप्रति संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।
अर्का सांसद गङ्गा कार्कीले सडक दुर्घटना बढेको उल्लेख गर्दै यसका कारण पहिचान गरी निराकरणका लागि पहल गर्न सरकारसँग आग्रह गरे । सांसद चन्द्रकान्त भण्डारीले पनि सडक दुर्घटना न्यूनीकरणका लागि सरकार र मातहतका निकायबाट आवश्यक पहल हुनुपर्नेमा जोड दिए । सांसद डा चन्दा कार्की भण्डारीले विभिन्न सडक निर्माणमा ढिलाइ भएको विषय उठाइन ।
सांसद चित्रबहादुर केसीले इजरायल र हमासको युद्धमा हराइरहेका कञ्चनपुरका विपिन जोशीको खोजी गर्न सरकारले गरिरहेको कामबारे संसद्लाई जानकारी गराउन माग राखेका छन । सांसद छिरिङल्हामु लामा (तामाङ) ले केही समयअघि काठमाडौँको ठमेलमा प्रहरीमाथि भएको आक्रमणको गम्भीर छानबिनको माग गरे । सांसद जावेदा खातुन जागाले मुस्लिम समुदाय राज्यबाट उपेक्षित पारिएको बताइन ।
शिक्षा मन्त्रालयले छात्रवृत्ति कार्यक्रममा मुस्मिललाई विभेद गरेको उनको भनाइ छ । सांसद जुलीकुमारी महतो (महासेठ) रूख कटान, जग्गा अधिग्रहण, निर्माण सामग्री व्यवस्थापनलगायतमा ढिलाइ हुँदा विकास निर्माण प्रभावित भएको बताइन ।
प्रतिक्रिया दिनुहोस्