नेपाल प्रिमियर लिगमा कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स  विजयी 

काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत शनिबार भएको खेलमा कर्णाली याक्स र सुदुरपश्चिम रोयल्स  विजयी भएका छन । शनिबार भएको खेलमा कर्णाली याक्स सात रनले विजयी भएको हो । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स कर्णालीका नन्दन यादवको कसिलो बलिङमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।
कर्णालीको जितमा नन्दन यादवले चार ओभर बलिङ गर्ने क्रममा १९ रन खर्चेर तीन विकेट लिए । साथै विपीन यादवले दुई तथा सोमपाल कामी, विलियम वोसिस्टोले र उनिश ठकुरीले एक÷एक विकेट लिए । बिराटनगरका लागि निकोलस कीर्तनले ३९ बलमा चार चौका र एक छक्काको सहयोगमा ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन् । उसका लागि ओपनर लोकेश बमले १९ र दीपक बोहोराले १८ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाएको थियो । उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए ।
साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए । कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए । अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले व्यक्तिगत पाँच रन छँदा आउट भए ।
कर्णाली याक्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा बिराटनगरका लागि प्रतीश जिशीले चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले समान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए । चार खेलमा दुईमा जित हासिल गरेको कर्णालीसँग चार अङ्क छ भने समान खेल खेलेको विराटनगरसँग एक जितका साथ दुई अङ्क छ ।
यस्तै, नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटियो ।
योसँगै लुम्बिनीले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै अङ्क तालिकाको अन्तिममा पुगेको छ । पहिलो जितको खोजीमा लक्ष्य पछ्याएको लुम्बिनीलाई सुरुमै झट्का लाग्यो । शून्य रन छँदा पहिलो विकेट गुमाएको उसले पाँच रनमा दोस्रो विकेट र नौ रन छँदा तेस्रो विकेट गुमायो ।
साथै १९ रन छँदा चौथो र पाँचौ विकेट गुमाएपछि लुम्बिनी दबाबमा परेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका विवेक यादवले १४२ दशमलव ५९ को स्ट्राइक रेटमा ७७ रन बटुले पनि त्यो जितका लागि पर्याप्त भएन् । लुम्बिनीका अर्जुन साउद, साद विन जफर, रामेन साइमन्डस् र दुर्गेश गुप्ता शून्य रनमा आउट हुँदा सुन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको जितमा ब्राण्डोन म्याक मुलेन र सेफ अलि जेबले समान तीन विकेट लिए भने स्टक कुगेलेनले दुई र अभिनाश बोहोराले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको आक्रमक ब्याटिङमा कुल एक सय ८७ रनको योगफल तयार पारेको थियो ।
सेफले ६१ बल खेल्ने क्रममा छ चौका र पाँच छक्काको सहयोगमा ९० रन बनाए । कूल १९ बल खेलेका दीपेन्द्र सिंह ऐरीले चार चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाए । त्यसैगरी ब्राण्डेन म्याक मुलेनले २३ र बिनोद भण्डारीले १७ रन बनाए । लुम्बिनीका लागि  रामेन साइमन्डसले दुई, कप्तान रोहित पौडेल र विवेक यादवले समान एक÷एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्