शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने

 

काठमाडौँ, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताएका छन । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको शनिबार दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राखे ।

अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताए ।

विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जिकिर गरे । अब विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोडेर लैजानुपर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

यसैगरी उनले जनयुद्धको तयारीदेखि पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक तथा भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गरे । अध्यक्ष प्रचण्डले देशभर निराशा छाएको बेला विसं २०७९ मा नौवटा स्थानीय तह र हालै सम्पन्न उपनिर्वाचनमा पहिले पराजित भएका ठाउँमा पनि जितेर नयाँ इतिहास बनाएको बताए ।

यस्तै, अध्यक्ष प्रचण्डले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्याइने बताएका छन ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताए ।

अध्यक्ष प्रचण्डले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्याउनुपर्छ”, उनले भने । एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उनले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताए ।

आफू प्रधानमन्त्री भएका बेला विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता भएको जानकारी दिँदै उनले यसलाई पारित गराउन फेरि एकपटक सबैले बल गर्नुपर्नेमा जोड दिए । “विधेयक अझै पूर्ण नभएको भनी शिक्षक आन्दोलन भइहेको छ, शिक्षकका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्छ”, उनले भने ।

यो विधेयक पारित गराउन आफूले हरसम्भव प्रयत्नज गर्ने प्रतिबद्धता व्यक्त गरे । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र शिक्षक समाजबीच एकता सो अवसरमा माओवादी केन्द्रको विचारसँग सहमत भएका शिक्षकहरुको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ ।

समाजका सबै तहका कमिटी सङ्गठनमा समाहित भएका छन् । सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे । सो क्रममा दुवै सङ्गठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको थियो ।

सङ्गठनका अध्यक्ष अधिकारीले शिक्षका अधिकारका निम्ति एकता आवश्यक भएको बताए । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकताबद्ध पहलको खाँचो औँल्याए ।

प्रतिक्रिया दिनुहोस्