यसैगरी, फिल्म ‘अञ्जिला’बाट अभिनयमा समेत होमिएकी राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाका लागि निर्माताले फिल्मबाट हुने कमाइले काठमाडौंमा घर बनाइदिने भएका छन् ।
बुधबार एञ्जिलालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउबाट फुटबल खेल्नका लागि विशेष सम्मानसहित विदाई गर्दै निर्माता प्रेम कुमार श्रेष्ठले उक्त घोषणा गरेका हुन् ।
कप्तान सुब्बाको जीवन संघर्ष र खेलकुदमा पाएको सफलतामा आधारित भएर बनेको ‘अञ्जिला’मा उनी स्वयं मुख्य भूमिकामा छिन् । खेलका लागि ग्रिस जानुभन्दा अगाडि एञ्जिला यही मंसिर २३ गते हङकङमा हुन लागेको फिल्मको प्रिमियरमा सहभागी हुनेछिन् ।
उनीसँगै प्रिमियरमा निर्देशक मिलन चाम्स पनि उपस्थित हुने जनाइएको छ । हङकङमा फिल्मको टिकट ‘सोल्डआउट’ भइसकेको निर्देशक चाम्सले जानकारी दिए ।
हङकङपछि आगामी जनवरी १८ (२०२५)मा अस्ट्रेलिया, जनवरीको अन्त्यमा जापान, फेब्रुअरी १५ मा यूके र मार्च २ मा कोरियामा फिल्मको प्रिमियर हुन लागेको पनि कार्यक्रममा जानकारी गराइयो । नेपालमा भने आगामी फागुन २९ गतेबाट फिल्म प्रदर्शनमा आउनेछ । ग्रिसमा खेल सकाएर फर्किएपछि एञ्जिला फिल्मको प्रचारमा जुट्नेछिन् ।
एञ्जिलाको विदाई कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामालगायत उपस्थित थिए ।
फुटबल टिम (क्लब) ‘स्पोर्टिङ इलाम डि मेची’का मालिक समेत रहेका सांसद नेम्बाङले एञ्जिलाको सङ्घर्ष र सफलता नेपाली खेलकुद र फिल्मका लागि प्रेरणादायी रहेको बताए । ‘अञ्जिला’ले नेपाली महिला खेलकुदको महत्त्व र सम्भावनालाई विश्वसामु पु¥याउने उनको विश्वास छ । उनले निर्देशक मिलन चाम्सलाई नेपाली फिल्मको ‘मेस्सी’को समेत संज्ञा दिए ।
नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले ‘अञ्जिला’लाई ऐतिहासिक प्रयासको रूपमा व्याख्या गरिन् । उनले भनिन्, ‘सम्भवतः यो नेपाली महिला खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक हो । एञ्जिलाको सङ्घर्ष र सफलताको कथा खेलकुद पर्यटनको विकासका लागि पनि प्रेरणा बन्नेछ ।’
राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङले यो फिल्मलाई नेपाली फुटबलको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे । उनले युरोपियन लिगमा महिला गोलरक्षकले खेल्ने अवसर पाउनु ठूलो उपलब्धि रहेको समेत बताए ।
‘अञ्जिला’मा एञ्जिलासहित सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय छ । फिल्मको सह–निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् । यसको छायाङ्कन सुदीप बरालले गरेका हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्