एनपिएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सद्वारा विराटनगर किङ्ग्स पराजित

काठमाडौँ, १९ मंसिर ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । विराटनगरले भने प्रतियोतिगामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि भएको पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
विराटनगरका  लागि बसिर अहमदले २८ बल खेल्दै दुई चौकाको सहयोगमा २४ रन बनाए । नौ बल खेलेका राजेश पुलामीले एक चौकाको मद्दतमा १५ रन बनाए । अनिल खरेलले १० रन बनाउनेबोहक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यस्तै क्रिस सोलले नौ रन जोड्दा कप्तान सन्दीप लामिछाने आठ रनमा आउट भए । त्यस्तै इस्मत आलम ६ रनमा तगा निकोलस कीर्तोनले पाँच रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहोरा र स्कट कुगेलेइनले समान तीन तीन विकेट लिए भने ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले समान एक÷एक विकेट लिए ।
त्यसअघि दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले  निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८२ रनको योगफल तयार गरेको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका कप्तान ऐरिले अविजित रहँदै २४ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाए ।
त्यसैगरी, ब्रेन्डन म्यामुलेनले २६ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३६ रन जोडे । विनोद भण्डारीले २० बलमा चार चौकाको सहयोगमा २३ रन जोडे भने इशान पान्डेले १६ बलमा दुई चौका र एक छक्काको सहयोगमा २१ रन बनाए ।
आरिफ शेखले पाँच बलमा दुई चौकाको सहयोगमा नौ रन जोडे । सेफ जेबले १५ बलमा एक छक्काको सहयोगमा १४ रन जोडे । विराटनगरका लागि अनिल खरेलले तीन विकेट लिए भने इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान एक ÷एक विकेट लिए । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा विभिन्न आठ टोली सहभागी छन् ।
जसमा काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच आज दिउँसो सवा एक बजे प्रतिस्पर्धा हुँदैछ ।
यस्तै, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स ७४ रनमा अल आउट भएको छ । चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनमा पराजित गरेको हो ।
मंगलवारको दोस्रो खेलमा चितवनले दिएको १ सय ६२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको पोखरा ७४ रन बनाउँदै १३.२ ओभरमा अल आउट भएको हो । पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रन जोडे । उनले २४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । नारायण १३औं ओभरको पाँचौ बलमा आउट भए । म्याट क्रिचलीले १६ बलमा १७ रन बनाए । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चितवनका लागि सोहेल तन्भिर, रिजन ढकाल र ल्युक बेनकेनस्टेनले समान ३ तथा दीपक बोहोराले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ५१ रन बनाए ।
बोपारले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । १६औ ओभरको अन्मि बलमा रेमन रेइफरको बलमा आउट भए । कप्तान कुशल मल्लले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन बनाए । कुशल सागर ढकालको बलमा आउट भए ।
ल्युक बेनकेनस्टेनले १३ बलमा १६ रन बनाए । उनी बास डि लिडेको बलमा कप्तान कुशल भुर्तेलद्वारा क्याच आउट भए । ओपनर हसन इसाखिलले १० बलमा १४ रन जोडे । पोखराका लागि विपिन खत्री, बास डि लिडे र रेमन रेइफरले समान २ तथा सागर ढकालले १ विकेट लिए ।
बुधवार लिगको पाँचौ दिन २ खेल हुदैछ । पहिलो खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्