फिल्म ‘जन्ते बाख्रो’मा पहिलोपटक मुख्य अभिनेत्रीको रुपमा गरिमा शर्मा

 

काठमाडौं, १६ मंसिर । फिल्म ‘जन्ते बाख्रो’मा पहिलोपटक मुख्य अभिनेत्रीको रुपमा गरिमा शर्मा देखिने भएकी छन् । टिकटकबाट उदाएर म्यूजिक भिडियोमा बलियो पकड बनाएकी गरिमा शर्मा पहिलोपटक फिल्ममा मुख्य अभिनेत्रीको रुपमा देखिने भएकी हुन् । डेब्यु फिल्म ‘लण्डन टू पेरिस’ र दोस्रो फिल्म ‘ह्रस्व दीर्घ’मा सहायक अभिनेत्री भएर काम गरेकी उनी नयाँ फिल्म ‘जन्ते बाख्रो’मा मुख्य अभिनेत्री बन्न लागेकी हुन् ।

 

शुक्रबार उनीसँग निर्माताले कागजी सम्झौता गरेका छन् ।
प्राप्त जानकारी अनुसार अडिसनबाट छनोट भएपछि गरिमालाई फिल्ममा अनुबन्धित गरिएको हो । अब फिल्ममा उनको जोडी अभिनेताद्वय सौगात मल्ल र आसिफ शाहसँग बाँधिनेछ । फिल्ममा अनुबन्धित भएपछि गरिमा उत्साहित देखिएकी छन् । यसलाई उनले आफ्नो करिअरको ठूलो उपलब्धि मानेकी छन् ।

फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन् । यसमा प्रदीप भारद्वाजको लेखन छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ कमेडी कथावस्तुमा बन्न लागेको शीर्षकबाटै प्रष्ट हुन्छ । फिल्मको निर्मातामा सन्तोष गौतम रहेका छन् ।

आगामी पुष १ गतेबाट छायांकन सुरु हुन लागेको फिल्मको यही मंसिर २० गतेबाट वर्कसप गरिँदैछ ।
गरिमाको ‘लण्डन टू पेरिस’मा अभिनय निकै कमजोर देखिएको थियो । जसले गर्दा उनको आलोचना पनि भयो । हाल प्रदर्शनरत ‘ह्रस्व दीर्घ’मा भने केही हदसम्म उनको अभिनयमा सुधार देखिन्छ । अब पहिलोपटक मुख्य अभिनेत्री भएर प्रस्तुत हुन लागेकाले ‘जन्ते बाख्रो’मा उनले आफूलाई प्रमाणित गर्नुपर्ने दबाब रहनेछ । यो उनका लागि अवसर र चुनौती दुवै हो ।

प्रतिक्रिया दिनुहोस्