गण्डकी, १० मङ्सिर । सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
यसअघि गत कात्तिक २५ गते कास्की जिल्ला अदालतले उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएकामा उक्त म्याद शुक्रबार सकिएपछि आइतबार अदालत उपस्थित गराइएको थियो । अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।
यसैगरी,गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका रवि लामिछानेले सहकारीलाई चेक काटेर दिएको फेला परेको छ ।
लामिछानेको हस्ताक्षरसहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको अनुसन्धानका क्रममा भेटिएको प्रहरी स्रोतले पुष्टि गरेको छ । ‘गोर्खा मिडिया नेटवर्कले रवि लामिछानेको हस्ताक्षरसहित सुप्रिम सहकारीलाई गरेको भुक्तानीको चेक फेला पारेका छौं’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘उहाँसँग यसबारे सोधपुछ र लिखित बयान भइसकेको छ, सहकारी ठगीको अभियोगमा उहाँको संलग्नता पुष्टि गर्ने यो महत्वपूर्ण प्रमाण हो ।’
प्रहरी स्रोतका अनुसार, रुपन्देहीको सुप्रिम सहकारीबाट पटकपटक रकम लिएको गोर्खा मिडिया प्रा.लि.ले त्यही सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ फिर्ता गरेको चेक गरेको छ, तिनमा लामिछानेको पनि हस्ताक्षर छ । स्रोतका अनुसार, गोर्खा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्