काठमाडौं, २५ कात्तिक । कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ह्रस्व दीर्घ’मा नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको छ । पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको हो । यसले फिल्मलाई ‘हाइप’ दिलाउन ठूलो मद्दत मिलेको छ । ‘स्टारकास्ट’कै कारण फिल्मले सफलता हासिल गर्न सक्ने विश्लेषण भइरहेको छ ।
बुधबार ट्रेलर सार्वजनिक भएपछि फिल्मप्रति दर्शकमा उत्साह चुलिएको छ । ट्रेलरलाई मिलेको भ्यूज र प्रतिक्रिया हेर्दा उत्साहजनक देखिन्छ । २४ घण्टामा ट्रेलरलाई युट्युबमा ११ लाखभन्दा बढीले हेरेका थिए । यो आक्रामक रफ्तार हो । अहिले युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा रहेको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म लगभग १३ लाखले हेरिसकेका छन् भने प्रतिक्रिया ३ हजार हाराहारीमा छ । र, अधिकांश प्रतिक्रियामा तारिफ मात्र भेटिन्छ ।
कतिले ट्रेलरको आधारमा फिल्म ‘सुपरहिट’ हुने घोषणा गरेका छन् भने कतिले हिन्दी फिल्मलाई टक्कर दिएको धारणा व्यक्त गरेका छन् । नेपाली फिल्मको मेकिङमा परिवर्तन आउन थालेको प्रतिक्रिया पनि धेरै देखिन्छ । नीता ढुंगाना, ब्रह्मानन्दम जस्ता कलाकारको प्रशंसामा पनि शब्द कोरिएका छन् । द्वन्द्व, छायांकन, संवाद, पार्श्व संगीत पक्ष पनि रुचाइएको छ । सम्रगमा ट्रेलरले दर्शकलाई सन्तुष्ट तुल्याएको छ ।
द्वन्द्व निर्देशनमा स्थापित चन्द्र पन्तले फिल्मको निर्देशन गरेका हुन् । यो उनको पहिलो निर्देशकीय नेपाली फिल्म हो । यसअघि उनले केही भोजपुरी फिल्म भने निर्देशन गरिसकेका छन् । उनकै कारण फिल्ममा साउथका कलाकार भित्रन सम्भव भएको हो । नेपालसहित भारतमा अवस्थित संसारकै ठूलो स्टुडियो रामोजीमा समेत छायांकन गरिएको फिल्ममा ६ करोड खर्च भएको छ ।
फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, सरोज खनाल, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, रेखा थापासहित साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली र कबीर दुहन सिंहको अभिनय छ । फिल्मलाई भारतीय छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘युवराज’ जस्ता हिन्दी फिल्म खिचेका छन् ।
प्रतिक्रिया दिनुहोस्