रास्वपाका सभापति लामिछानेलाई १३ दिन हिरासतमा राख्न अनुमति

 

काठमाडौं,२५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबी राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ लिला पछाईंलाई १३ दिनको म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा र जीबी राईसँग मिलेर अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब अपचलन भएको छ । जसमा गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको भन्दै रविसहित छविलाल, जीबी राई, कुमार रम्तेललाई कारबाही गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको थियो । रवि, छविमाथि अहिले अनुसन्धान भइरहेको छ भने कुरा पुर्पक्षका लागि कास्की कारागारमै छन् । जीबी भने अहिलेसम्म फरार छन् ।

सहकारी ठगी प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष देवकुमार नेपालीलाई पनि कास्की झिकाएर आइतबारै बयान लिइएको छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म सभापति रहने बताएका छन् । रविलाई छुटाउन भइरहेको विरोध प्रदर्शनका क्रममा आइतबार अर्यालले रास्वपाले अर्को सभापतिको कल्पना नरहेको बताएका हुन् । ‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो,’ उनले भने, ‘यसमा कसले कार्यवाहक सभापति पाउँछ, पाउँदैन गौंण कुरा हो ।’

रवि हिरासतमा वा जेलमा बसे पनि सभापति नै भइरहने उनले बताएका छन् । जेलमै बसेर पार्टी सञ्चालन गरेको, प्रधानमन्त्रीको कुर्चीमै बसेको संसारमा धेरै उदाहरण रहेको दाबी उनले गरे । रास्वपाको कार्यवाहक सभापति कसले पाउने भन्ने चर्चा चलिरहेका बेला उनले यस्तो बताएका हुन् । रविलाई अदालतमा आइतबार चौथो पटक उपस्थित गराउँदा रास्वपाले जिरोदेखि महेन्द्रपुलसम्म विरोध प्रदर्शन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्