महेन्द्रनगर (धनुषा), ४ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले आज नेपाली कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, शेषनारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्री नियुक्त गर्नुभएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी भएको छ । लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त हुनुभएको छ । यसअघि उक्त मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हाल्नु भएको थियो । उहाँलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । आजै नेपाली कांग्रेसबाट चार र लोसपाका एक मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो ।
नवनियुक्त मन्त्रीहरूलाई मधेस भवनमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्