चितवन, १३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताउनुभएको छ ।
नेकपा एमाले चितवनले कालिका नगरपालिकामा आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले एमालेले काम गरेर देखाएको र स्पष्ट दृष्टिकोण भएको पार्टी भएको बताउनुभयो । उहाँले एमालेले सरकारको नेतृत्व गरेको समयमा मदनभण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्न सुरु गरेको, रेलमार्ग सुरु गरी जनकपुरसम्म रेल पु¥याएको उल्लेख गर्नुभयो । “एमाले सरकारमा छँदा जनतामा बेग्लै खालको उर्जा सञ्चार भएको थियो । विकासको लहर ल्याउने प्रयत्न गरेका थियौँ”, उहाँले भन्नुभयो ।
एमाले नेपाली जनताको पार्टी भएको भन्दै उहाँले भन्नुभयो, “हाम्रो अभियान नेपालमा परिवर्तन ल्याउन र देशलाई समृद्ध बनाउनका लागि हो । जनतालाई सुखी बनाउन र जनताका समस्या समाधान गर्न हामी आन्दोलनका लागि तयार छौँ ।” उहाँले आत्मविश्वासका साथ अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा नयाँ र पुराना भनेर भेदभाव नगर्न पनि उहाँको सुझाव थियो ।
—
प्रतिक्रिया दिनुहोस्