काठमाडौँ, १३ मंसिर । संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भवन शीतल निवासमा भेटवार्ता भएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन ।
प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन ।
प्रधानमन्त्री बुधबार राति ९ः३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्नेछन । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवद्र्धन गर्न ‘हिमालको आह्वान ः जलवायु सङ्कटबाट हामीलाई कसले बचाउछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख÷सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ ।
उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा विरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कनेछन ।
प्रतिक्रिया दिनुहोस्