राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षे पछाडी हट्ने

कोलम्बो, २८ मङ्सिर (रासस÷एएफपी) ः श्रीलङ्काका शसक्त नेता महिन्दा राजापाक्षे पछाडी हट्ने सङ्केत देखिएको छ । उहाँले प्रधानमन्त्रीको पदमा बसिरहदा विवाद देखिएकाले त्यसबाट बाहिरिने तयारी गर्नुभएको राजापाक्षेका छोराले शुक्रबार बताएका छन् । राजापाक्षेको यो तयारीसँगै श्रीलङ्कामा जारी सात हप्ता लामो शक्ति संघर्षको अत्य हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् । राजापाक्षेका छोरा नामलले शनिबार राजापाक्षेले पद त्याग गर्ने संकेत गर्नुभयो । “उहाँले देशको स्थायित्वका लागि यस्तो गर्न लाग्नु भएको हो,” नामलले भन्नुभयो । श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको भोलिपल्ट राजापाक्षे पुत्रको यस्तो भनाई आएको हो । राजापाक्षे पुत्रको भनाइले प्रधानमन्त्रीका रुपमा राजापाक्षेले अव कुनै अभ्यास र काम नगर्ने सङ्केत गरिसकेको छ । उहाँले सर्वोच्च अदालतको आदेशको विरुद्धमा उभिने अवस्था नरहेको निष्कर्ष निकालेको विश्लेषण गरिएको छ । सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो । अदालतले संसद् विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष पनि निकालेको अधिकारीहरुले जानकारी दिएका थिए । राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद् विघटनको घोषणा गर्दै निर्वाचनको मिति तोकेपछि त्यसका विरद्धमा मुद्धा परेको थियो । त्यस मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै अदालतले यसअघि कुनै प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । संसद्को समयावधि झण्डै दुई वर्ष बाँकी छँदै उहाँले निर्वाचनको घोषणा गर्नुभएको थियो । राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कट शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *