होटल व्यवसायी संवेदनशील हुनुपर्ने

काठमाडौँ, २३ मङ्सिर (रासस) ः होटल क्षेत्रमा हुने हिंसा न्यूनीकरणका लागि व्यवसायी संवेदनशील हुनुपर्ने शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौँको तारकेश्वर नगरपालिकाको राजमार्ग क्षेत्रका होटल व्यवसायीसँग भएको अन्तक्र्रिया कार्यक्रममा होटलमा हिंसा बलात्कार र आक्रमणका घटना बढेकाले व्यवसायीहरू सचेत हुनुपर्नेमा सहभागीहरूको जोड थियो । काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले सामाजिक सञ्जालले लैङ्गिक हिंसा बढाएको बताउँदै हिंसा नियन्त्रणका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले होटल व्यवसायमा हुने विकृति नियन्त्रणका लागि सिसी क्यामेरा जडान गर्नुपर्नेमा जोड दिनुभयो । बालाजुस्थित महानगरीय प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले महिला बेचबिखनका लागि होटल नै प्रयोग हुने गरेकाले होटलमा आउने हरेक व्यक्तिको स्पष्ट विवरण राख्न आग्रह गर्नुभयो । तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले होटल व्यवसायमा देखिएको यस्ता समस्या रोक्न प्रहरीसँग मिलेर काम गर्नुपर्ने र समुदायमा जनचेतना जरुरी रहेको औँल्याउनुभयो । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल मूल समन्वय समितिकी अध्यक्ष देविना कार्कीले हिंसा रोक्न सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *