अदालतले टुङ्ग्याउन नसकेका मुद्दाहरु विप्लव माओवादीको जनअदालतमा, जनअदालतप्रति जनताको आकर्षण बढ्दो

काठमाडौँ, १ मंसिर । जनयुद्धको समयमा तत्कालीन माओवादीले जनअदालत चलाएको थियो । स्थानीय मुद्दाहरु सोही अदालतले निर्णय गर्ने गरेको थियो । सामाजिक विकृती हटाउनको लागि माओवादीले भाटे कार्वाही समेत चलाएको थियो । जसले गर्दा समाजका फटाहरु तह लागेका थिए । सोही सिको गर्दै अहिले विप्लव माओवादीले जनअदालत चलाएको छ । जसमा अदालतबाट टुङ्गो नलागेका मुद्दाहरु टुङ्गो लगाउन थालिएको छ । वर्षौदेखि अदालत धाउदा धाउदा कानुनको चक्करमा परेका पीडितहरु अहिले जनअदालतमा उजुरी दिन थालेका छन् । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जनाएको छ । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगायत रहेका छन् । तीमध्ये आठ सय मुद्दा टुङ्ग्याई सकिएको उक्त पार्टीले जनाएको छ । उक्त पार्टीका विद्यार्थी नेता मदन केसीले सरकार मातहत रहेका अदालतले टुङग्याउन नसकेका मुद्दाहरु टुङ्ग्याउन थालेकाले ‘जनअदालत’ प्रति आकर्षण बढेको दावी गर्दै भने– ‘जनअदालतमा घरायसी झगडा, भ्रष्टाचार, ठगी, लेनदेन जस्ता मुद्दा दर्ता छन् । हामीले ती मुद्दाहरुको अध्ययन गरेर जनताको काम गरिरहेका छौं ।’ जनअदालतहरु सवै स्थानीय तहमा गठन गरिएका छन् ।

केन्द्रिय जनअदालत अन्तर्गतको जनसरकार प्रमुख सन्तोष बुढामगर र न्याय विभाग प्रमुखका रुपमा आदर्श रहेका छन् । वडाध्यक्षदेखि प्रहरी उच्चनिकायका प्रमुख लगागतका विरुद्ध समेत देशैभरबाट यस्ता मुद्दा दर्ता भएको नेकपा श्रोतले जनाएको छ ।
यसैगरी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका दुई जना नेता–कार्यकर्तालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । यसरी गिरफ्तार पर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य तथा जिल्ला जनसरकारका प्रमुख नवराज तामाङ, छिरिङ रहेका छन् । उनीहरुलाई इलाम जिल्ला सदरमुकाम नजिक भञ्ज्याङबाट पार्टीको प्रचार गर्दै हिड्ने क्रममा गिरफ्तारीमा परेका हुन् ।आफ्ना नेताकार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै उक्त पार्टीका जिल्ला इन्चार्ज सर्व श्रेष्ठले आपत्ति जनाएका छन् । इन्चार्ज श्रेष्ठले आफ्ना नेताकार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन् ।
यसैगरी सप्तरीको कडरवामा सशस्त्र प्रहरी सिविर अन्तरगत कदमहापोष्टले नेकपाको मंसिर ८ गते हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्री लुटपाट गरेको छ । ‘प्रतिबन्धित समाग्री किन ल्याएको हो ।’ भन्दै सो सामाग्री लुटपाट गरिएको हो । नेपालमा कुनकुन दलहरु प्रतिबन्धित छन् भन्ने ज्ञानसम्म नभएका प्रहरी अधिकारीहरुले कसरी काम गरिरहेको होलान् सहजै बुझ्न सकिन्छ । पाचथरबाट प्राप्त अर्को समाचारअनुसार कात्तिक २२ गते पाचथर नौवाबाट जनसभाको पोस्टर टाँसदै गर्दा विजय निङ्वाङ र कविराज लिम्बुलाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव माओवादीले मंसिर ८ गते देशैभर जनसभा गर्ने भएको छ । जनसभाको लागि अहिले व्यापक रुपमा प्रचारप्रसार गर्नुका साथै तयारी भईरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *