लङ्काको संसदद्वारा राजापाक्ष सरकारविरूद्ध अविस्वासको प्रस्ताव पारित

कोलम्बो, श्रीलङ्का, कात्तिक ३० (रासस÷सिन्ह्वा) ः श्रीलङ्काको संसदले शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै नियुक्त गरेको महिन्दा राजापाक्ष सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ ।
सभामुख कारू जयसुरियाले संसद परिसरमा व्यापक प्रहरीको उपस्थितिमा मतदानको घोषणा गर्नुभएकोे बताइएको छ । सरकारका विरुद्ध भएको मतदानका लागि शुक्रबार श्रीलङ्काको इतिहासमा सयौँ प्रहरीको सुरक्षाघेरामा सभामुख पहिलो पटक संसदको सभाकक्षमा पुग्नुभएको थियो । त्यहाँ पुग्दा संसद बैठक १ः३० मा शुरू हुने बताइएको भएपनि ३० मिनेट ढिलो शुरू भएको थियो । सभामुख संसदको सभाहलमा पुग्दा सांसदहरूको एक समूहले उहाँको कार्यकक्षमा घेराउ गरी नाराबाजी गरेका थिए । उनीहरूले अघिल्लो दिन संसदमा चक्कूसहित आएका यूनाइटेड नेशनल पार्टीका सांसदलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन आवाज बुलन्द गरेका थिए । संसदमा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सभामुख जयसुरिया आफ्नो कार्यकक्षमा पुगी सरकारविरूद्ध अविस्वासको प्रस्ताव आह्वान गरी मतदानका लागि सांसदहरूलाई निर्देशन दिनुभएको थियो । सभामुखले शुरूमा मत ‘नामका आधारमा’ गर्ने घोषणा गर्नुभयो । तर संसदमा भएको अस्तव्यस्तता र उग्र गतिविधिलाई मध्यनजर गरी उहाँले मतदान ‘ध्वनी मत’का आधारमा सम्पन्न हुने घोषणा गर्नुभएको थियो । त्यसपछि जयसुरियाले राजापाक्ष सरकारविरूद्धको अविस्वासको प्रस्ताव पारित भएको घोषणा गनुभयो । उहाँले संसदको आगामी बैठक सोमबारका लागि बोलाउनुभएको छ । मतदानपछि राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उहाँको आधिकारिक ट्वीटर पेजमार्फत एक विज्ञप्ति जारी गर्दै सबै सांसदलाई प्रजातन्त्रको मूल्यमान्यता र परम्परालाई सधै पालना गर्न आग्रह गर्नुभएको थियो । उहाँले कुनै अवस्थामा पनि संसदको आगामी बैठक नसार्ने बताउनुभएको थियो । सरकारका प्रवक्ता केहेलिया रामबुकवेलाले संसदमा भएको मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, ‘गैरकानूनी’ तवरमा संसदले सरकारका विरूद्ध गरेको मतदानलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताउनुभयो । राष्ट्रपतिद्वारा पदबाट हटाइएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै शुक्रबार विधायकहरूद्वारा गरेको घटनाको निन्दा गर्दै सरकार पराजीत भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *