सडक दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ, २७ कात्तिक । बिभिन्न सडक दुर्घटनामा परी मंगलबार ४ जनाको मृत्यु भएको छ ।छठ पूजाका लागि मेची नदीको पूजा स्थल (घाट) तर्फ जाँदै गरेकी एक बालिकाको मंगलबार ट्र्याक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ पोखरीटोल निवासी राखी यादवकी ६ वर्षीया छोरी राशी यादव रहेकी छिन । मेची नदीको किनारमा तयार गरिएको घाटमा पूजाका लागि मे१त ५२३२ नंको ट्र्याक्टरमा चढेर गइरहेको अवस्थामा त्यसबाट खसेको र सोही ट्र्याक्टरले किच्दा उनको मृत्यु भएको हो ।
यसैगरी मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा मंगलबार भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को२०प ६७०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सिराहा धनगढीमाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट आज एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–६ का ४० वर्षीय किसुनदेव सिंह दनुवार रहेको प्रहरीले जनाएको छ । बा.२०च ५६५२ नंको कारको ठक्करबाट गम्भीर घाइते भएका दनुवारलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी दाङमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डको रावतगाउँ चोक नजिकै आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ । घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई रा १ क ५८२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६ सानीअम्बापुर निवासी ४२ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । खत्रीलाई टिपरले च्यापेको छ । ठक्करपछि सडकदेखि तल खसेका मोटरसाइकल चालक सानीअम्वापुरकै वसन्त गिरी घाइते भएका छन् । गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरी चौकी सर्राले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयल जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *