लोकतान्त्रिक मूल्य मान्यताका लागि कांग्रेस एक हुनुपर्छ ः देउवा

काठमाडौँ, १४ असोज । पार्टी अनुशासित नभए लोकतन्त्र विरोधी शक्तिसँग लड्न नसकिने नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि पार्टीका सबै नेता कार्यकर्ता अनुशासित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस अछाम–काठमाडौँ सम्पर्क समितिले शनिबार राजधानीमा आयोजना गरेको ‘जय नेपाल’ स्मारिका विमोचन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् सभापति देउवाले पार्टी अनुशासित नभए लोकतन्त्र विरोधी शक्तिसँग लड्न नसकिने बताउदै गुट र उपगुट त्यागेर एक ढिक्का हुन् आग्रह गरेका छन् । कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वाम शक्ति लोकतान्त्रिक मूल्य र मान्यता विपरीत जान सक्ने सङ्केत देखिएकाले दलका नेता तथा कार्यकर्तामा एकता आवश्यक रहेको बताए । कांग्रेसको नेतृत्वमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र बैंकिङलगायत क्षेत्रमा भएका उपलब्धि लिएर जनतामाझ जानुपर्ने उनको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ संस्थाको निर्देशनमा एक भएका वाम दलले मतपत्रमार्फत बन्दुक शासनको अभ्यास गर्न खोजेको आरोप लगाए । सुदूरपश्चिम प्रदेशको राजधानी तोक्ने क्रममा प्रमुख प्रतिपक्षी दलको उपस्थितिको आवश्यकता महसुस नगरी जग्गा व्यापारीसँगको मिलेमतोमा राजधानी तोक्ने काम भएको उनले आरोप लगाए । कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत, कांग्रेस अछामका सभापति भरतकुमार स्वाँर, सांसद अम्बिका थापा कुँवर, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्वसांसद अक्कलबहादुर विष्ट, सम्मानित व्यक्तित्व सहप्राध्यापक भैरवबहादुर विष्ट, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य चन्द्र विक, सम्पर्क समितिका अध्यक्ष यज्ञराज उपाध्याय लगायतले अछाममा प्रहरीको गोली लागि आँखामा चोट लागेका विद्यार्थी अरविन विष्टमाथि भएको घटनाको छानविन गर्न माग गरेका छन् । त्यसैगरी कार्यक्रममा उपस्थिति महानुभावहरुले मुलुकमा दिनप्रतिदिन बढ्दै गएको अपराधीक गतिविधिलाई सरकारले नियन्त्रण गर्न नसकेको बन्दै सरकारको कडा आलोचना गरेका थिए ।

यसमा तपाइको मत