पथरी शनिश्चरेमा फुटवल खेलाडी उत्पादन गरिँदै

 

पथरी (मोरङ), ७ वैशाख  । पथरीशनिश्चरे नगरका दुई वडाले स्थानीय रुपमा फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम ल्याएका छन् । पथरीशनिश्चरे–२ र ८ वडाले फुटबल खेलाडी उत्पादन गर्न प्रशिक्षण सुरु गरेका हुन् ।

वडा नं २ ले ‘ए’ र ‘बी’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका फुटबल खेलाडीलाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । चर्च ब्वाइज युनाइटेडलाई लिग उपाधि दिलाउँदाका मुख्य खेलाडी सन्तोष न्यौपाने तथा बी डिभिजनको आरसिटीबाट खेलेका अनिल चुडाल र लालबहादुर लावतीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको वडाध्यक्ष नैना राईले जानकारी दिनुभयो ।

वडाकै तीनवटा खेलमैदानमा ६० भन्दा बढी फुटबल खेलाडीलाई प्रशिक्षण दिइने छ । पञ्चायत माविको खेलमैदान, वन सीमाको गोलचौरी र बासघरे चौरीमा प्रशिक्षण सुरु गरिएको हो । फुटबलका माध्यबाट राष्ट्रलाई योगदान दिन खेलाडी उत्पादनको कार्यक्रम ल्याइएको वडाध्यक्ष राईले बताउनुभयो ।

त्यसैगरी, वडा नं ८ ले पनि खेलाडी उत्पादनका लागि फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पथरी शनिश्चरे–८ मा भर्खरै निर्माण सम्पन्न बुद्घ मावि (प्रस्तावित नगर रङ्गशाला)मा खेलाडीलाई प्रशिक्षण दिइने भएको छ । वडा नं ८ ले पनि बजेट विनियोजन गरेर फुटबल प्रशिक्षण सुरु गरेको छ । पहिलो चरणमा वडाको एक स्थानमा फुटबल मैदान भएकाले धेरै खेलाडीलाई समेट्ने प्रयास गरिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिनुभयो ।

पथरी शनिश्चरे नगरमा मात्र आधा दर्जन खेलाडी बी डिभिजन लिगमा सहभागी भएका छन् । चौध वर्षदेखि १८ वर्षका खेलाडी दुवै वडाले सुरु गरेको फुटबल प्रशिक्षणमा सहभागी भएका छन् । यसरी स्थानीय सरकारले नै खेलाडी उत्पादनका लागि कार्यक्रम ल्याउनु सकारात्मक भएको खेलाडी बताउँछन् ।
–––

प्रतिक्रिया दिनुहोस्