फिल्म ‘मोहर’ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउँदै

काठमाडौँ, ६ वैशाख । अभिनेता पल शाहको गत वर्ष तीनवटा फिल्म रिलिज भए । यस वर्ष पनि त्यही संख्यामा रिलिजको सम्भावना देखिन्छ । उनको यस वर्षका लागि पहिलो रिलिज फिल्म भने ‘मोहर’ हुनेछ, जुन आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । ओम प्रतिकको निर्देशन बनेको फिल्ममा उनको जोडीको रूपमा बेनिशा हमाल र नीति शाह प्रस्तुत छन् । दुवैसँग उनको यो पहिलो सहकार्य हो ।

गत फागुनमा दाङको घोराहीमा छायांकन हुँदा पलको भूमिका खुल्ने गरी केही भिडियो टिकटकमा बाहिरिएका थिए । जसमा उनी इन्स्पेक्टरको पोशाकमा देखिएका थिए । उनको साथमा नीति पनि थिइन् । शुक्रबार भने पलको नयाँ गेटअपसहितको तस्वीर सार्वजनिक गरिएको छ । जसमा उनलाई भरुवा बन्दुक ताकेको अवस्थामा लामो कपालमा देख्न सकिन्छ ।

छायांकनको क्रममा बाहिरिएका भिडियो र शुक्रबार सार्वजनिक तस्वीरले फिल्ममा पल दोहोरो भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । यद्यपि, यसबारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन । पल भने फिल्ममा आफ्नो भूमिकालाई लिएर उत्साहित देखिएका छन् । यसपटक दर्शकले आफूलाई फरक गेटअपमा देख्न पाउने उनको भनाइ छ ।

चुम्बन जंग शाहीको लगानीमा तयार भएको फिल्ममा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशील देवकोटा, बाल कलाकार सारा शर्मा लगायतको पनि अभिनय छ । दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, कुमार महर्जनको द्वन्द्व तथा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस्