राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौँ, १६ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो । उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २–२ गोलको बराबरीमा रोकेको थियो । उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

अनुभवी खेलाडी रेनुका सन् २०१० देखि राष्ट्रिय टोलीबाट खेलिरहेकी छिन् । उनले राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पनि निभाइन् ।
तर २०२२ मा एसियन गेम्सको तयारीको क्रममा उनको खुट्टामा लागेको चोट र शल्यक्रियापछि टिममा कमब्याक गर्न र प्लेइङ इलेभेनमा पर्न निकै संघर्ष गर्नुपरेको थियो ।

उनले तत्कालिन प्रशिक्षक अनन्त थापाले आफुमाथि विश्वास नगरेकोले खेल्न सक्दिन भन्ने मानसिकता आइसकेको बताइन् ।
तर अहिले प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्व र सहयोगमा टिममा फर्किएर सर्वाेत्कृष्ट खेलाडी सम्मको यात्रा तय गरेको पनि उनले स्पष्ट पारिन् ।

उनले युवा खेलाडीले भन्दा बढी मिहिनेत गर्न पर्छ भन्ने आफूलाई थाहा भएको र सोही अनुरुप मिहिनेत गरेको पनि बताइन् । दशरथ रंगशालामा भएको च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग २–० ले हारेको नेपाल उप विजेतामा नै सिमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्