जनताले  भोग्दै आएका बिभिन्न समस्या समाधान गर्न माओवादीको जागरण अभियान

सुनसरी, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड ले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताएका छन । जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा बिहीबार सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताएका हुन ।
अध्यक्ष प्रचण्डले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताले कृषि क्षेत्रमा भोग्दै आएका समस्या समाधान र बजारीकरणलाई सम्बोधन गर्ने सङ्कल्पसहित यो अभियान सञ्चालन गरिएको प्रष्ट पारेका छन ।
उनले भने, “कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने छ । यसका लागि हामो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध सङ्घर्षको झण्डा उठाउन अभियान थालिएको उनको भनाइ थियो । उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको आर्थिक अवस्था रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रहेको अध्यक्ष प्रचण्डले बताए ।
यस्तै, अध्यक्ष प्रचण्डले मुलुकमा रहेका ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण एवं प्रवद्र्धन गरिने बताएका छन । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जुताल सिमसार विकास तथा संरक्षण समितिद्वारा बिहीबार आयोजित कार्यक्रममा उनले ‘जनतासँग माओवादी, तराई मधेस जनजागरण’ अभियानले मुलुकका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक स्थलको अवलोकन गरेको बताए ।
आगामी दिनमा यस्ता महत्व बोकेका स्थलको विकास, संरक्षण र प्रवद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना बनाइने उनले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले अभियानअन्तर्गत झापाको किचकवधसहित यहाँका अन्य महत्वपूर्ण क्षेत्र, मोरङको कानेपोखरी र आसपासका क्षेत्रमा रहेका ऐतिहासिक स्थलको विकाससम्बन्धी कार्यसूचीसमेत निर्माण गरेको जानकारी दिए । उनले आफू गणतन्त्र नेपालको पहिलो पटक प्रधानमन्त्री हुँदा यस तालको विकासका लागि केही रकम छुट्याएको स्मरण गरे ।
अध्यक्ष प्रचण्डले यस तालको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्दै थप भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोगको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ताल क्षेत्रको विकासबाट यहाँ पर्यटकीय गतिविधि वृद्धि हुनुका साथै स्थानीयको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डलाई ताल संरक्षण समितिका अध्यक्ष बिलटसिंह श्रेष्ठले तालको विकास, संरक्षण र प्रवद्र्धनको पलह गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
यस्तै, अध्यक्ष प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट भएको बताएका छन् । अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले गत केन्द्रीय समिति बैठकले पार्टीलाई दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताए ।
यस्तै प्रचण्डले पार्टीकै निर्णयअनुसार  जनतासँग माओवादी तराई मधेस जागरण थालिएको बताए । अभियानको क्रममा आर्थिक समृद्धिका संभावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको बताए ।
हिजोदेखि सामन्ती राज्यले विभेदमा राखेको र आफूहरुले जनयुद्धमार्फत उनीहरुका मुद्दा  उठाएको, त्यहीअनुरूप अधिकार संविधानमा राखिएको तर कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई समेत सम्बोधन गर्न हुलाकी मार्ग केन्द्रित अभियान थालिएको उनले बताए ।
आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सन्चालन गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डलेदेशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उचो ठाउँमा लगेर समापन गरिने बताए । यो अभियान स्वरुप र सन्देश दुबै हिसाबले मौलिक हुने उल्लेख गर्दै उनले यसले वास्तविक राष्ट्रिय एकता कायम गर्ने जिकिर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्