‘विधेयकमा रहेका त्रुटीपूर्ण विषय संशोधन गर्नुपर्ने’

मोरङ, २  फागुन : कोशी प्रदेशसभामा पेस भएको प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका त्रुटीपूर्ण विषय संशोधन गर्न सरोकारलाले जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश र मोरङ शाखाद्वारा आज विराटनगरमा संयुक्त रुपमा आयोजित ‘कोशी प्रदेशसभामा पेस भएको प्रादेशिक आमसञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ बारे छलफलमा सहभागीले प्रदेश सरकारले ल्याउन लागेको विधेयक र सञ्चार प्रतिष्ठानको विषयमा संशोधनको आवश्यकता औँल्याएका छन् ।

कोशी प्रदेशमा नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले विधेयकमा देखिएका कमीकमजोरीलाई आवश्यक छलफलबाट अघि बढाउन प्रदेश सरकार समक्ष माग गर्ने बताउनुभयो ।

कोशी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक विदुर लिङ्थेपले संशोधन गर्नुपर्ने विषय बुँदागतरुपमा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिका सदस्य शङ्कर खरेलले पत्रकारको हकहित संरक्षण गर्नुपर्ने प्रतिष्ठान दण्डतर्फ केन्द्रित भएको आरोप लगाउनुभयो । उहाँले प्रतिष्ठानलाई स्वायत्त संस्था बनाउनुपर्ने सुझाव दिनुभयो ।

पत्रकार महासङ्घ कोशी प्रदेशका पूर्वमहासचिव विवेक गौतमले कार्यपत्रपत्र प्रस्तुत गर्दै विधेयकको विषयमा भएका कमीकमजोरीलाई प्रष्ट पार्नुभयो । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ र समाजवादी प्रेस सङ्गठन कोशी प्रदेशका अध्यक्ष बन्धु पोखरेलले प्रदेश रजिष्ट्रारलाई दिइएको हक अधिकारमा आपत्ति जनाउँदै संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव एवं प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले विधेयकका केही विषयमा संशोधन गर्न सकिने बताउनुभयो । यसैबीच विधेयकमा देखिएका कमीकमजोरी सच्याउन आवश्यक सुझाव दिन नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको नेतृत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । समितिले प्रदेशसभा, सभामुख तथा विभिन्न राजनीतिक दललाई सुझावको संशोधन पत्र बुझाउने छ ।
–––

प्रतिक्रिया दिनुहोस्