त्रिवेणी (रुकुमपश्चिम), २ फागुन रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाको बेलटापु खेलमैदानमा भएको सातौँ राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथन सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा पुरुषतर्फ रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५ का दुर्गाराज बुढा प्रथम हुनुभयो भने महिलातर्फ जुम्लाकी कल्पना बुढाले उपाधि पाउनुभयो ।
निर्धारित ४८ किलोमिटर दूरी चार घण्टा ५२ मिनेटमा पूरा गरेर दुर्गाराज प्रथम हुँदै नगद रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो । रुकुमपश्चिमकै सानीभेरी गाउँपालिका–३ का भुवन ओली दोस्रो हुनुभयो । उहाँले निर्धारित दूरी चार घण्टा ५३ मिनेटमा पूरा गर्दै रु ७५ हजार पुरस्कार प्राप्त गर्नुभयो । जुम्लाका शेरबहादुर बुढा तेस्रो हुँदा रुकुमपूर्वको भूमे गाउँपालिकाका शक्तिराम बुढा चौथो हुनुभयो । शेरबहादुरले रु ४५ हजार र शक्तिरामले रु १५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।
म्याराथनमा पाँचौँ स्थानदेखि १०औँ स्थानसम्म प्राप्त गर्ने धावकलाई समान रु तीन हजार नगद पुरस्कार उपलब्ध गराइएको सानीभेरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो ।
महिलातर्फ प्रथम हुनुभएकी जुम्लाकी कल्पना बुढाले निर्धारित ३४ किलोमिटर दूरी तीन घण्टा १४ मिनेटमा पार गर्दै उहाँले रु ६० हजार पुरस्कार प्राप्त गर्नुभयो । निर्धारित दूरी तीन घण्टा १६ मिनेटमा पार गर्दै जुम्लाकी राज्यलक्ष्मी रावत द्वितीय, तीन घण्टा ५७ मिनेटमा दूरी पार गर्दै जुम्लाकै सन्दीपा बुढा तृतीय र जुम्लाकै मिमु बुढा चौथो हुनुभयो । उहाँहरूले क्रमशः रु ४० हजार, रु २० हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले जानकारी दिनुभयो ।
महिलातर्फ पनि पाँचौँदेखि दशौँसम्मका धावकहरूले समान रु तीन हजार पुरस्कार प्राप्त गर्नुभयो । महिला र पुरुष दुवैतर्फ विजेतालाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ ६१ जनाले प्रतिस्पर्धा गरेका थिएभने महिलातर्फ ३१ जना धावकले प्रतिस्पर्धा गरेका थिए । हरेक वर्ष सानीभेरी गाउँपालिका फागुन १ गते राष्ट्रियस्तरको गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसमा राष्ट्रिय खेलकुद परिषद्ले पनि सहयोग गर्दै आएको छ ।
प्रतियोगिताका विजेता धावकहरूलाई नेकपा(माओवादी केन्द्र) उपमहासचिव एवं सांसद जनार्दन शर्माले पुरस्कार प्रदान गर्नुभयो ।
–––
प्रतिक्रिया दिनुहोस्