नवलपुर (नवलपरासी), २५ माघ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा शुक्रबारदेखि चौथो मेयरकप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता हुने भएको छ । गैँडाकोट नगर खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा नगरपालिकाभित्रका ३० विद्यालयका कक्षा ८ सम्म अध्ययन गर्ने विद्यार्थी सहभागी हुने छन् ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले खेलकुदका गतिविधि बढ्दै गए यहाँबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । नगर उपप्रमुख शान्ति कोइरालाले नगरपालिकाले विद्यालय खेलकुदको विकास गर्न सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
प्रतियोगिताको विजेताले रु ५१ हजार, उपविजेताले रु ३१ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु १६ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक लक्ष्मण कार्कीले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता गैँडाकोट नगरपालिकाको प्रस्तावित क्षेत्रीय रङ्गशालामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्