नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प, भूकम्पमा परि चीनमा १२६ जनाको मृत्यु, नेपालमा सामान्य क्षति

काठमाडौँ, २४ पुस । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । मङ्गलबार बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा भूकम्पमा परि १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १८६ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रविन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो । भूकम्पको केन्द्रविन्दुको २० किलोमिटरको दायराभित्र २७ गाउँ र करिब छ हजार ९ सय मानिस रहेका छन् ।

डिङ्ग्री काउन्टीमा ६१ हजार भन्दा बढी जनसङ्ख्या रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।भूकम्प प्रभावित क्षेत्रमा तीन हजार चार सयभन्दा बढी उद्धारकर्ता र तीन सय ४० भन्दा बढी स्वास्थ्यकर्मी पठाइएको छ । मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिन डिङ्ग्रीको न्यूनतम तापक्रम माइनस १८ देखि माइनस १४ डिग्री सेल्सियससम्म रहने छ ।

भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो ।

भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए । केन्द्रले छ देखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।

हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिए । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उनले भने । यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताए ।

केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उनले भने, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।”नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिए ।

पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । खानी तथा भू–गर्भ विभागअन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले पटकपटक भूकम्प जाँदैमा तत्काल अर्को ठूलो भूकम्पको जोखिम रहन्छ भन्ने नभएको बताए ।

भूकम्पको भविष्यवाणी गर्न सम्भव नभएको उनले उल्लेख गरे । “पटकपटक भूकम्प गइरहेको स्थानमा भूकम्पको शक्ति जम्मा भइरहेको हुन्छ । उक्त ठाउँमा स–साना भूकम्प गइरहेका हुन्छन् भने भविष्यमा ठूलो भूकम्प जान सक्ने सम्भावना हुन्छ,” उनले भने, “तर अहिलेसम्म भूकम्प जाने भविष्यवाणी भने गर्न सकिएको छैन ।”

भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिए ।

ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एक÷एक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ ।

भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।

भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । सम्भावित उद्धार तथा राहतका लागि प्रहरीसहित सबै संयन्त्र तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

भूकम्पका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा एउटा घर भत्किएको छ । भूकम्पबाट स्थानीय तेन्छेवी शेर्पाको घरमा क्षति पुगेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । जस्तापाताले छाएको शेर्पाको दुई तले ढुङ्गाको घरमा चिरा परेको उनले बताए । शेर्पाको घरमा सात जनाको परिवार बस्दै आएको थियो ।

उनीहरु भने सकुशल रहेका छन् । भूकम्पबाट जिल्लामा मानविय क्षति भने नभएको प्रजिअ खड्काले बताए । क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन । राष्ट्रपतिले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । साथै उनले गहिरो शोकको यो घडीमा नेपाल सरकार चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्