यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा

 

काठमाडौं,२२ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।
नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन् । मलेसियामा माघ ५ गतेदेखि हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।

समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्नेछन् । समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन् ।
नेपालले पहिलो खेल बंगलादेशसँग माघ ५ गते खेल्नेछ । सो खेल मलेसियाको बांगीमा हुनेछ । दोस्रो खेल माघ ७ गते स्कटल्यान्ड र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरूद्ध हुनेछ ।

नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ रहेका छन । सन् २०२३ देखि सुरु भएको यू–१९ विश्वकपको यो दोस्रो संस्करण हो । अघिल्लो संस्करणको छनोटमा नेपाल तेस्रो हुँदा छनोट हुन असफल भएको थियो ।

सन् २०२५ को विश्वकपमा छनोट भएको नेपालले सन् २०२७ को यू–१९ महिला विश्वकपमा स्थान पक्का गरिसकेको छ । किनभने नेपाल र बंगलादेशले सन् २०२७ को यू–१९ विश्वकपको आयोजकको रुपमा प्रतियोगितामा पनि स्थान पक्का गरिसकेका हुन् । आगामी संस्करणमा स्वतः स्थान पक्का हुनुअघि छनोट भएर नेपाली यू–१९ टोलीले आफूहरु विश्वकपका लागि हकदार भएको समेत प्रमाणित गरेका छन् ।

सन् २०२७ मा विश्वकपको आयोजना गरेसँगै नेपालले क्रिकेटको ग्लोबल इभेन्ट पहिलो पटक आयोजना गर्ने इतिहास पनि बनाउनेछ । सन् २०२५ मा नेपाली महिला क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप खेल्ने इतिहास कोरिदैछ ।

 

सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले छनोट पार्दै गर्दै इतिहास बनाएको थियो । युएईमा सञ्चालन भएको एसिया छनोटमा नेपालले घरेलु टोलीलाई पछि पार्दै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो । छनोटमा नेपाल र युएईसहित कुवेत र थाइल्यान्डले भाग लिएका थिए ।

गत नोभेम्बरमा यूएईमा भएको आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक यू–१९ महिला विश्वकपकमा छनोट भएको थियो । त्यसपछि नेपालले यू–१९ महिला एसिया कप समेत खेल्न पाएको थियो जहाँ नेपालले पाकिस्तानलाई हराएको थियो ।

यूएईमा विश्वकप छनोट खेलेकी मनिषा उपाध्याय भने अहिले टिममा छैनन् । उनी एसिया कपमा पनि टिममा थिइनन् । विश्वकप छनोट नखेलेका किरण कुमारी कुँवर र अनु कडायत भने विश्वकप खेल्ने टिममा अटाएका छन् ।

 

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू–१९ महिला टी२० विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ । नेपाल समूह डी मा छ । यस समूहमा अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । नेपाल जस्तै स्कटल्याण्ड पनि छनोट चरण पार गरेर विश्वकपमा पुगेको हो । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्डसँग र जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ ।

चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप ३ खेल खेल्ने अवसर पाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्