काठमाडौं, २१ मंसिर । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक साढे २ मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । सस्पेन्स र थ्रिल मिश्रित ट्रेलरमा गोर्खाल्यान्डका लागि भएको संघर्षलाई देखाइएको छ । सौगातको पात्र विद्रोही र रहस्यमयी देखिन्छ ।
जोन राईको निर्देशनमा तयार भएको फिल्ममा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय छ । आगामी पुष ५ गतेबाट नेपाल र भारतमा फिल्म एकसाथ रिलिज हुनेछ ।
‘बम बहादुर’ले भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ र डुअर्स क्षेत्रमा बस्ने नेपाली समुदायले गरेको ऐतिहासिक सङ्घर्षलाई चित्रण गर्ने निर्देशक राईले बताए । १९८० को दशकमा भएका घटनाहरूमाथि फिल्म आधारित रहेको उनको भनाई छ । उनी फिल्मलाई भारतका नेपाली समुदायले गरेको सङ्घर्षको डिजिटल दस्तावेजको रुपमा व्याख्या गर्छन् ।
बिस्ट ब्रदर्स फिल्म्सको निर्माणमा बनेको फिल्मका निर्माता सञ्जीव सार्की हुन् । लाइन प्रोड्युसरमा भने प्रकाश हमाल छन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा लेखन रहेको फिल्ममा सुजोय कुमार घोष ‘मुन्ना’को छायाङ्कन तथा ज्ञान गुरुङको सम्पादन छ । यसमा संगीत दीपङ्कर सिंह मुखियाको रहेको छ भने म्यूजिक एरेन्जमेन्ट र ब्याकग्राउन्ड स्कोर इजाज अलीले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्