काठमाडौँ, २१ मंसिर । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिजयी भएका छन ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाईलाई ७३ रनले हराएको छ ।
सुदूरपश्चिम रोयल्सले जितका लागि दिएको एक सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ गुर्खाज १५ दशमलव पाँच ओभरमा ९४ रन बनाउँदै अलआउट भयो । काठमाडौँका लागि स्टिफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा एक छक्का र पाँच चौकाको मद्दतले ३७ रन बनाएका हुन् । सुमित महर्जनले १४, भीम सार्की र गेरहार्ड इरासमसले समान १०÷१० र प्रतिक श्रेष्ठले आठ रन बनाए ।
काठमाडौँका लागि माइकल लेविटले पाँच, शङ्कर राणाले तीन, रासिद खानले दुई रन बनाउँदा कप्तान करण केसी, नाथन सोटर र शाहब आलमले समान एक÷एक रन जोडे । यो खेलमा काठमाडौँले अतिरिक्त दुई रन पायो । सुदूरपश्चिम रोयल्सका लागि नरन साउदले सर्वाधिक पाँच विकेट लिए ।
अभिनास बोहोराले दुई विकेट हात पार्दा ब्रान्डन म्याकमुलेन र सैफ जैबले समान एक÷एक विकेट लिए । योसँगै सुदूरपश्चिम रोयल्सको यो दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि विराटनगर किङ्गसलाई ९० रनले पराजित गरेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे । उनले ३६ बलमा चार छक्का र तीन चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन जोडेका छन् । यस्तै, विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले चार र आरिफ सेखले तीन रन बनाए । खेलमा अविजित रहँदै स्कट कुग्गेलिजनले सात र इशान पाण्डेले एक रनको योगदान दिए । यो खेलमा सुदूरपश्चिमले अतिरिक्त दश रन पायो ।
काठमाडौँका लागि रासिद खानले सर्वाधिक दुई विकेट लिए । गेरहार्ड इरासमस, शाहब आलम र कप्तान करण केसीले एक÷एक विकेट लिएका थिए । एनपिएलमा काठमाडौँ गुर्खाजको यो दोस्रो हार हो । तीन खेल खेलेको काठमाडौँले यसअघि एक खेलमा विजयी भएको थियो ।
यसैगरी, नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित निकालेको हो ।
पोखरा एभेञ्जर्सले जितका लागि दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ दशमलव एक ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो । जनकपुरले यसअघि विराटनगर किङ्ग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो जनकपुरको जितमा लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए ।
यस्तै, आशिफ सेखले ३२, अनिल शाहले एक रन बनाउँदा अविजित रहँदै जम्स निशमले ४० र हर्ष ठाकरले १३ रन जोडे । बलिङतर्फ पोखराका कप्तान कुशल भुर्तेल, माइकल लिस्क र विपीन खत्रीले समान एक÷एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । पोखराका लागि मार्कस क्रिचले सर्वाधिक ३५ रन बनाए । माइकल लिस्कले २५, एन्ड्रिज गौसले २०, रेमन रेफरले १७ र दिलीप नाथले ११ रनको योगदान दिए ।
साथै दिनेश खरेलले १०, कप्तान कुशल भुर्तेलले छ रन जोडे भने अविजित रहँदै नारायण जोशीले पाँच र विपिन खत्रीले एक रन बनाए । जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए ।
त्यस्तै, जेम्स निशमले दुई, मोहम्मद मोहसिन र किशोर महतोले समान एक÷एक विकेट लिए । जारी एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो हार हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्