उपनिर्वाचनले माओवादीको ‘एजेन्डा’ लाई जनअनुमोदन गरेको दावी

काठमाडौँ, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ ।

उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि मंगलबार वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष प्रचण्डले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका छन । आफ्नो नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पु¥याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका रुपमा उपनिर्वाचनलाई लिइएको उनले उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई आफ्नो पार्टीले ‘आफ्नो एजेन्डा र आफ्नै एकल पहिचान’का साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको बताएका छन ।

उनले जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन । राजनीतिक उपलब्धिको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पु¥याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको जनाउँदै अध्यक्ष प्रचण्डले माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई जनसेवामा परिचालन गरिने बताए ।

“हाम्रो पार्टीले नेतृत्व गरेका स्थानीय तहले उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन्, आगामी दिनमा यसलाई बढाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्ण रुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध छ”, वक्तव्यमा उनले भनेका छन ।

अध्यक्ष प्रचण्डले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन । उनले निर्वाचित सबै जनप्रतिनिधिलाई बधाईज्ञापन गरेका छन । उनले निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, आम जनसमुदाय तथा निर्वाचन आयोग, राष्ट्रसेवक, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवादज्ञापन गरेका छन ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन । नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीको मंगलबार दुलेगौडामा आयोजित नगरसम्मेलनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताए ।

उनले भने, “जनताको आशा र भरोसा माओवादी केन्द्रप्रति छ भन्ने पुष्टि भएको छ, माओवादी केन्द्र झनै बलियो भएर आएको छ ।”
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अब नयाँ ढङ्गबाट अगाडि बढ्ने उल्लेख गर्दै आफूले जनताको साथ र भरोसालाई मर्न नदिने उल्लेख गरे । माओवादी केन्द्र सरकार ढाल्ने र बनाउने खेलमा नरहेको स्पष्ट पारेका छन ।

प्रतिक्रिया दिनुहोस्