काठमाडौँ, १९ मंसिर । डिजिटल प्लेटर्फमलाई समाजप्रति पारदर्शी, मर्यादित र जवाफदेहिता बनाउन मन्त्रालयले निरन्तर प्रयास गरिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले जानकारी दिएकी छन । काठमाडौँमा मंगलबार मन्त्रालयको समन्वयमा ‘टिकटक’ले आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’ कार्यक्रममा सचिव अर्यालले डिजिटल सुरक्षाको हिसाबले टिकटक मर्यादित हुँदैआएको बताइन ।
सचिव अर्यालले टिकटक डिजिटल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भई सञ्चालनमा आएपछि समाजप्रति उत्तरदायी भएको बताइन । उनले टिकटकले जस्तै अन्य सामाजिक सञ्जाल प्रयोगकर्तालाई सूचीकरण भई उत्तरदायी भूमिका निर्वाह गर्न अनुरोध गरेकी छन ।
उनले मन्त्रालयसमक्ष सूचीकृत भएर टिकटक सञ्चालनमा आउनु सकारात्मक कार्य भएको र अरु सामाजिक सञ्जाललाई पनि यसरी नै सरकारको सूचीकरणमा आउन आह्वान गरिन । डिजिटल सुरक्षाका हिसाबले अरु सामाजिक सञ्जालभन्दा टिकटक विश्वसनीय छ”, सचिव अर्यालले भनिन्, “अरु सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि यो सकारात्मक कार्यको अनुशरण गर्नपर्छ ।”
सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको उद्देश्य नभएर सुरक्षित र मर्यादित बनाउने रहेको सचिव अर्यालले बताइन । साथै यसका लागि सरकारलाई सबैको सहकार्य जरुरी रहेको उनको भनाइ थियो । “सामाजिक सञ्जाल व्यवस्थापनमा प्रयोगकर्ताले ‘कन्टेन्टमा करेक्सन’ गरे धेरै हदसम्म समस्या समाधान हुन्छ”, उनले भनिन् । सचिव अर्यालले सरकारको डिजिटल नेपाल बनाउने उद्देश्य सार्थक बनाउन सामाजिक सञ्जालको अहम् भूमिका हुने बताइन ।
प्रतिक्रिया दिनुहोस्