काठमाडौँ, १८ मंसिर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्स र चितवन राइनोज विजयी भएका छन ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कप्तान अनिलकुमार साहको अद्र्धशतकीय पारीको मद्दतमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई आठ विकेटले पराजित गरेको छ ।
जनकपुर वोल्ट्स आफ्नो दोस्रो खेलमा लगातार विजयी भएको हो । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा जनकपुर वोल्ट्स विराटनगर किङ्ग्ससित आठ विकेटले नै विजयी भएको थियो । जितसँगै जनकपुर वोल्ट्स अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो । एक सय ४२ रनको विजयी लक्ष्य जनकपुर वोल्ट्सले १५ दशमलव एक ओभरमा मात्र दुई विकेट गुमाएर पूरा ग¥यो । जनकपुर वोल्ट्सका लागि कप्तान अनिलकुमार साहले अविजित ६२ रन बनाए । उनले ४२ बल खेल्ने क्रममा तीन छक्का र छ चौका प्रहार गरे ।
यस्तै आशिफ शेखले २९ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३६ रनको योगदान दिए । श्रीलङ्काली खेलाडी लाहिरु मिलन्थाले १३ बल खेल्दै दुई छक्का र दुई चौकासहित २४ रन बनाए । जिमी निशिमले आठ बलमा अविजित १६ रन बनाए । यसमा उनको एक छक्का र दुई चौका सामेल थियो । बलिङतर्फ कर्णाली याक्सका लागि जिशम मक्सुद र मौसम ढकालले एक एक विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेर एक सय ४१ रनको योगफल तयार गर्ने क्रममा कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए । उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे ।
भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । यस्तै हङकङका बाबर हायातले १२ रन बनाए । बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले एक एक विकेट लिए ।
यसैगरी, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा दुई चौका र एक छक्का प्रहार गरे ।
यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११ रन बनाए । बलिङतर्फ काठमाडौँ गुर्खाजका लागि शाहब आलमले तीन तथा गेहार्ड इरास्मस र डान डाउथवेटले एक एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो । काठमाडौँका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे ।
त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए । डान डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए ।
बलिङतर्फ चितवन राइनोजका लागि सोहेल तन्भिर एक्लैले पाँच विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए । यस्तै रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टाइनले एक एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्