काठमाडौँ, १७ मंसिर । बिभिन्न घटनामा सात जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा रोकिराखेको टिपरमा ठक्कर खाएर गम्भीर घाइते भएका मोटरसाइकल चालकको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–१४ मुरलीबगैँचा घर भई काठमाडौँको काँडाघारी हात्तीडाँडा बस्ने ४५ वर्षीय सञ्जय सिंह रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, “जडीबुटीस्थित सडकमा रोकी राखेको बा४ख ६१८२ नम्बरको टिपरमा प्र ३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा गएराति निज मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।” दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमासेन्टर महाकालमा उपचारका क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रवक्ता कार्कीले बताएका छन ।
यसैगरी, रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ ।
निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो । पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
यस्तै, सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको हो । भित्री सडकमा बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते भएका थिए ।
घाइते यादवलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशिक अस्पताल लहान लगे पनि अस्पताले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत थिए । जिल्ला प्रहरी सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले नम्बर नखुलेको स्कारपियोले ठक्कर दिई भारततर्फ भागेकाले ठक्कर दिने गाडीको खोजतलास भइरहेको जानकारी दिए ।
सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्करपियोले ठक्कर दिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए । उनले अहिलेसम्म स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि स्कोरपियो फेला नपरेकाले यसै भन्न नसकिने जनाए ।
प्रतिक्रिया दिनुहोस्