काठमाडौँ, १५ मङ्सिर । देशमा व्याप्त युवा बेरोजगारीको अन्त्य गरिनुपर्ने माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरूले मेचीनगरबाट महेन्द्रनगरसम्म ११ दिने युवा सङ्कल्पयात्रा सम्पन्न गरेका छन् ।
कात्तिक २३ गतेदेखि सुरु गरेर मङ्सिर ४ गते यात्रा समापन गरिएको यसको नेतृत्व गर्नुभएका कांग्रेसका युवानेता भूपेन्द्रजङ्ग शाहीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । एघार दिनसम्म मेचीनगरबाट महेन्द्रनगरसम्म यात्रा गरिए पनि त्यसअघि र पछिको पनि केही समय यात्राकै काम गरिएकाले करिब एक महिनाको समय यात्राका लागि खर्च गरिएको जनाइएको छ । यात्राका क्रममा प्रत्येक जिल्लामा पार्टीको जिल्ला कार्यसमिति सहभागी भएको पनि उहाँले सुनाउनुभयो ।
“पार्टीभित्रको कुनै गुटसँग नजिक भएर यात्रा गरेका थिएनौँ, यसैले यो युवा यात्रा सबै लोकतन्त्रप्रेमीको साझा कार्यक्रम बन्न सफल भयो, हामीले सोचेभन्दा पनि राम्रो कार्यक्रम भयो, पचास ठाउँमा कार्यक्रम गरियो, कति ठाउँमा भेटघाट भयो, यात्राका क्रममा किसान, मजदुरसँग पनि कार्यस्थलमै पुगेर संवाद गरेका छौँ, व्यवसायीसँग पनि अहिलेको आर्थिक अवस्थाका बारेमा छलफल गरेका छौँ”, युवानेता शाहीले भन्नुभयो ।
कांग्रेसको देशभर रहेका संरचना लागेकाले युवाको मात्र नभई सबैको कार्यक्रम बन्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । यात्राका क्रममा सहकारीपीडित, किसान, मजदुर, युवा, विद्यार्थीलगायतका समस्या सुनेर समाधानका लागि पहल गरिने प्रतिबद्धता जनाइएको छ ।
युवालाई रोजगारी, महँगीको अन्त्य, भ्रष्टाचारको न्यूनीकरणलगायत मुख्य मुद्दा लिएर गरिएको यो यात्राले बेलैमा सचेत हुन, सरकारको आँखा खुलाउन सहयोग गर्ने विश्वास लिइएको जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो । युवालाई उद्यमी बनाउन बिनाधितो ऋण दिनुपर्ने सुझाव यात्राका क्रममा युवाले दिएका थिए । युवालाई उद्यम गर्न अनुदानको व्यवस्था भए पनि त्यो सबैले पाउन नसकेको र प्रक्रिया झन्झटिलो भएको युवाको गुनासो पाइएको नेता शाहीले सुनाउनुभयो । युवालाई कृषिमा प्रेरित गर्न पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग युवाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्