दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ, १२ मङ्सिर । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ । पाकिस्तानको लाहोरमा मंगलबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।
यसअघि सोमबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको थियो । यो जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । यस्तै त्यसअघि भएको पहिलो खेलमा भने नेपाल श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।
नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८७ रनमा समेटियो । दक्षिण अफ्रिकाका लागि ओपनर बुहले भिडलाले अविजित रहँदै शतक प्रहार गरे पनि जितका लागि त्यो अङ्क पर्याप्त बनेन । उनले ७१ बल खेल्दै आठ चौकासहित एक सय रनको योगदान दिए । त्यस्तै लेसिबा एफ्राइम माथापो ४६ र एडरिक तेर हारले ६ रनमा बनाए । लेसेडी लेसुफी ११ रनमा अविजित रहे ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रनको योगफल बनाएको थियो । नेपालका ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन बनाए । उनले ५७ बल खेल्दै चार चौका प्रहार गरे । सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा अविजित रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका भिडलाले एक विकेट लिए ।
यसअघि दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो । नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको हो ।
पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले  टस हारेपछि पहिला ब्याटिङ गरेको थियो । नेपालले जितका लागि अफगानिस्तानसामु दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर अफगानिस्तानले सवै विकेट गुमाएर एक सय २० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अद्र्धशतकीय पारी खेले । बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए । यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए ।
अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए ।यस्तै नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईँ र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए ।
दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्