काठमाडौं,१० मंसिर । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासंग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा अनुबन्धित भएकी छन् ।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट निर्माता सुशील पोखरेलले शुक्रबार सुहानासँग कागजी सम्झौता गरेका हुन् । यसमा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् ।
फिल्म ‘ए मेरो हजुर ३’बाट डेब्यु गरेकी सुहानाले पहिलोपटक घरबाहिरको फिल्ममा काम गर्न लागेकी हुन् । गत वर्ष फिल्म ‘एक भागवत् एक गीता’मा देखिएकी उनले ‘ए मेरो हजुर ४’मा पनि प्रमुख भूमिका निभाएकी छन् । यी तीनवटै फिल्मको निर्देशन उनकी आमा झरना थापाले गरेकी थिइन् । ‘परालको आगो’लाई भने लक्ष्मण सुनारले निर्देशन गर्नेछन् ।
फिल्ममा अनुबन्धित भएपछि सुहानाले खुशी व्यक्त गरेकी छन् । ‘एउटा अमर कृतिमा काम गर्न पाउनु मेरो लागि सौभाग्य हो । यसैले मैले पहिलोपटक घरबाहिरको फिल्म साइन गरें’, उनले भनिन् । गौँथली चरित्रले आफूलाई लोभ्याएको सुहानाको भनाई छ ।
आगामी वर्ष (२०८२)को दशैंमा प्रदर्शन लक्ष्य राखिएको फिल्ममा सुशील देवकोटाको लेखन रहनेछ । करिब ४५ वर्षअघि ‘परालको आगो’ कथामा निर्देशक प्रताप सुब्बाले पनि फिल्म निर्माण गरेका थिए । यसपटक भने लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गरिने निर्माता पोखरेलको भनाई छ ।
केही दिनअघि मैनाली कथा पुरस्कार ट्रस्टको तर्फबाट कथाकार मैनालीका छोरा माधवप्रसादले निर्माता सुशील पोखरेललाई ‘कथाको भाव र मर्म’ नबिग्रने गरी फिल्म निर्माणका लागि मञ्जुरी दिएका थिए । ‘परालको आगो’ कथामा दुई पात्र चामे र गौँथली (श्रीमान्–श्रीमती)को झैँझगडालाई परालको आगोको संज्ञा दिइएको छ । यसलाई कथाकार मैनालीको सर्वश्रेष्ठ कथा मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्