काठमाडौँ, १० मङ्सिर । विभागिय टोली त्रिभुवन आर्मी क्लबका अपोजिट स्पाइकर धनबहादुर भट्टले टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ खेल्ने भएका छन् ।
यसै महिना नेपालमा हुने काभा क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको लागि हेल्प नेपालले धनबहादुरलाई टोलीमा भित्र्याएको आफ्नो सामजिक सन्जालमार्फत आइतवार जानकारी दिएको छ । हेल्प नेपालले शनिवार मात्र अर्को विभागिय टोली नेपाल पुलिस क्लबका रविन चन्द ठकुरीलाई टोलीमा भित्र्याएको थियो ।
हेल्प नेपाल आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन बनेको थियो । विजेता हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियनसिप खेल्दै छन् ।
हेल्प नेपालले टोप बहादुर थापा ‘दीपक’ लाई कप्तानीमा तथा उत्सव खड्कालाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ । यस्तै क्लब उप कप्तान सन्जु विक्रम शाह, मिडल ब्लकर सुरेन्द्र बम ठकुरी र सेटरमा सुवास कुँवरलाई पनि निरन्तरता दिएको छ । यस्तै टोलीमा तीन पाकिस्तानी खेलाडी हुनेछन् ।
काभाको कार्यक्रम अनुसार नेपाल भलिबल संघको आयोजनामा हुने काभा पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २२ देखि २९ मंसिरसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।
हेल्प नेपालले सह–प्रायोजकमा यार्सागुम्बा एभरेष्ट हर्ब्स प्रोसेसिंङ प्रालिसँग तथा हस्पिालिटी पार्टनरमा प्लाजा होटेल ग्रुपसँग सम्झौता गरिसकेको छ ।
क्लब च्याम्पियनसिपमा सेन्ट्रल एसियाका विभिन्न राष्ट्रका च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट भने आयोजक राष्ट्र भएका कारण दुई क्लबले सहभागिता जनाउने पक्का भएको हो ।
प्रतिक्रिया दिनुहोस्