मंसिर ७ बाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक

 

काठमाडौं, २५ कात्तिक । मंसिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ३८ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथामा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ ।

अभिनेता विपिन कार्की दोहोरो भूमिकामा छन् । उनले बाबु र छोराको भूमिका निभाएका छन् । आफ्नो सन्तान हुन लागेपछि उनले नेपालबाट आमा (पूजा चन्द)लाई अमेरिका बोलाउँछन् । त्यसपछि उत्पन्न पारिवारिक कलह र कानुनी झमेलाले उत्पन्न परिस्थितिलाई ट्रेलरमा मर्मस्पर्शी रुपमा देखाइएको छ । फिल्मले अमेरिकाको यथार्थलाई पस्किएको देखिन्छ ।

फिल्ममा शंकर घिमिरेको लेखन तथा निर्देशन छ । यो उनको १२ वर्षपछिको कमब्याक फिल्म हो । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा विपिन र पूजासहित वर्षा राउत, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेतीसहित अमेरिकी कलाकारहरुको पनि अभिनय छ । ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् ।

ट्रेलर रिलिज कार्यक्रममा निर्देशक घिमिरेले पहिला आफूले बनाएका फिल्ममा भएको कमी–कमजोरी ‘तेल भिसा’मा नदोहो¥याएको दाबी गरे । उनले भने, ‘म आफैंले बनाएको पहिलाका फिल्म हेर्दा धेरै कमी–कमजोरी भेट्छु । त्यो कुरालाई सच्चाएर ‘तेल भिसा’ बनाएको छु । यसमा मेकिङ राम्रो गरेका छौं । कन्टेन्ट पनि राम्रो छ । इमानदार भएर राम्रो फिल्म बनाउने प्रयास गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्