भैरहवा,२५ कात्तिक । भैरहवामा जारी २५ औं रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा आइतवार बिहान भएको खेलमा देवदह क्रिकेट क्लब विजयी भएको छ ।
डिभिजन ‘बी’ अन्तर्गतको दोस्रो खेलमा देवदहले साई ग्लोबल क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि पाएको ६८ रनको झिनो लक्ष्य देवदहले १८ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गरेको हो । देवदहका दीपक डुम्रेले २४ र संकेत भट्टराईले २३ रन बनाए । साई ग्लोबलका आकाश केवट र मोहम्मद मोइनले समान १ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा २८.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनको सामान्य स्कोर बनाएको थियो । टोलीका संदीप सिंहले १९, प्रभाश गैरेले १२ र सुजन रानाभाटले ११ रन बनाए । साई ग्लोबलका ५ खेलाडी शून्य रनमै आउट भएका हुन ।
देवदहका रोशन गौतमले १० ओभरमा ४ मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिए । सुरज खड्काले ३ र अर्जुन रायमाझीले २ विकेट हात पारे । खेलमा देवदहका रोशन गौतम प्लेयर अफ द म्याच घोषित भएका छन् ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीले १ लाख १ रुपैयाँ र दोस्रो ५० हजार १ रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको प्लेयर अफ द म्याचले १ हजार २ सय रुपैयाँ, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ पाउने छन् ।
सुपर लिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टोली सहभागी छन् । यसपटक नेपाल प्रिमियर लिग (एनपिएल) का कारण दुईचरणमा सुपर लिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु एनपिएल पछि आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्