काठमाडौँ, २५ कात्तिक । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले तेस्रो जित निकालेको छ । आइतबार भएको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो ।नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अलआउट भयो ।
थाइल्याण्डका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । थाइल्याण्डलाई सस्तैमा अलआउट गर्न नेपालका कुसुम गोदारले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिइन् भने रचनाकुमारी चौधरीले ३ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् ।
रिया शर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् भने कप्तान पूजा महतोले ४ ओभरमा २ मेडन राख्दै २ रन मात्र खर्चेर १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेलिन् ।
त्यस्तै अर्का ओपनर साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै समय १३ औं ओभरमा ८८–० को अवस्थामा रहेको नेपालले त्यसपछि लगातार रुपमा विकेट गुमाउँदै ५१ रन जोड्दा ९ विकेट गुमायो ।
थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् । त्यस्तै केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिइन् । नेपालले यसअघि भएको पहिलो खेलमा पनि थाइल्याण्डलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराउँदा तेस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्