काठमाडौं,२५ कात्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन र रास्वपाका सभापति रवि लामिछानेलाई १३ दिन हिरासतमा राख्न अदालतको अनुमति दिएको छ ।
पूर्वमन्त्री अधिकारीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । आइतबार अपराह्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए । अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।
अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पु¥याउन खोजेको आरोप छ । एमाले कोशीले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो ।
अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए । तर त्यहाँको अध्यागमनले अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो ।
डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए ।
जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन् । उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझेको प्रहरीलाई बताएका छन् ।
डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो । जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ ।
प्रतिक्रिया दिनुहोस्