काठमाडौं, २४ कात्तिक । फिल्म ‘हरिबहादुरको जुत्ता’मा कलाकारको ‘लाइनअप’ भएको छ । मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का भित्रिएकी छन् । दुई दशकअघिको चर्चित सिरियल ‘मदनबहादुर–हरिबहादुर’मा अभिनेता हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुरको चरित्रमा आधारित भएर बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यसमा हरिवंश स्वयं शीर्ष भूमिकामा देखिँदैछन् भने गायक प्रकाश सपूतको पनि अभिनय रहनेछ ।
शुक्रबार निर्माता सरोज ओलीले स्वस्तिमासँग कागजी सम्झौता गरेका हुन् । उनलाई निर्देशक दीपेन्द्र के. खनालले स्क्रिप्ट पनि हस्तान्तरण गरे । निर्देशक खनालसँग स्वस्तिमाको यो तेस्रो सहकार्य हुनेछ । यसअघि उनीहरुबीच ‘लभ लभ लभ’ र ‘चिसो मान्छे’ गरी दुई फिल्ममा सहकार्य भएको थियो । ‘चिसो मान्छे’मा स्वस्तिमाको अभिनय यादगार मानिन्छ ।
हरिवंशसँग स्वस्तिमाले पहिलोपटक फिल्ममा काम गर्न लागेकी हुन् । यसअघि म्यूजिक भिडियो ‘कर्कलो कोक्याउला’मा भने उनीहरुको सहकार्य भइसकेको छ । त्यस्तै, प्रकाशसँग स्वस्तिमाको फिल्ममा यो दोस्रो सहकार्य हुनेछ ।
यतिबेला उनी प्रकाशकै अभिनय तथा निर्देशनमा बनिरहेको फिल्म ‘वसन्त’को छायांकनमा व्यस्त छिन् ।
फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्य स्वयंको छ ।
केही समयअघि फिल्मको घोषणा गर्दै उनले भनेका थिए, ‘मेरो मनमा एउटा ‘कन्सेप्ट’ फुरिरहेको थियो । सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफैं फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । ‘आइडिया’ युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’
प्रतिक्रिया दिनुहोस्