काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड दिएका छन । गणेशमान सिंहको ११०औँ जन्मजयन्तीका अवसर शनिबार आयोजित कार्यक्रममा उनले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउनुपर्ने बताए ।
“मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत आलोक हो”, उनले भने, “लोकतन्त्रको यही आलोकलाई मानेर हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन ।”
मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भन्ने युवाको सपना साकार पार्ने, उनीहरुका चाहना यही व्यवस्थामा पूरा गर्न सम्भव छ भनेर जनतालाई विश्वास दिलाउन सक्नु नै अहिलेको आवश्यकता भएको राष्ट्रपतिले बताए । “मुलुकबाट विसङ्गति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडिएका जनताको आवाज सुनेर उनीहरुका समस्या सम्बोधन गर्न सरकारले नीति एवं कार्यक्रम तर्जुमा गरी तीनलाई कार्यान्वयन गर्नुपर्छ”, राष्ट्रपति पौडेलले भने ।
विश्वेश्वरप्रसाद कोइरालाले गणेशमान सिंहकाबारेमा भन्ने गरेको कुरा स्मरण गर्दै उनले भने, “गणेशमानजी साहसी र सङ्घर्षशील मात्र हुनुहुन्नथ्यो, उहाँ भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो । उहाँले भनेका अधिकांश कुरा सत्य सावित हुन्थे ।” नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनामा गणेशमान सिंहको योगदानलाई नेपाली जनताले कहिल्यै नबिर्सने उनले बताए । “लोकतान्त्रिक सिद्धान्त, मूल्यमान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नु हुने गणेशमानजीले यसको मूल्यमा कहिल्यै सौदाबाजी गर्नुभएन, उहाँको त्यही सद्गुण नै लोकतन्त्रप्रेमीहरूका लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने ।
लोकतान्त्रिक आन्दोलनका शिखरपुरुष गणेशमान सिंहले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्यमान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रका लागि हितकर हुन सक्दैन भने ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानको समीक्षा गरी आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताए । “संविधानका सबै पक्षको वस्तुनिष्ठ समीक्षा गरी आवश्यकता र नागरिक आकाङ्क्षाअनुसार संविधान संशोधन गर्न सकिन्छ”, उनले भने ।
प्रतिष्ठान अध्यक्ष भीमसेन दास प्रधानले असल राजनीतिज्ञ तथा नेताको पहिचान क्रान्तिका क्रममा नभई जिम्मेवारी पाउँदा देखिने चर्चा गर्दै गणेशमान सिंह विभिन्न राजनीतिक आन्दोलनको कुशल नेतृत्वकर्ता हुनुहुन्थ्यो भने । देशमा समावेशिताको ‘एजेण्डा’ स्थापना गर्नमा गणेशमान सिंहले निर्वाह गरेको भूमिका अतुलनीय रहेको बताए ।
नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले नेताको चरित्र कस्तो हुनुपर्छ भनेर गणेशमान सिंहबाट सिक्नुपर्ने बताए । त्यसअवसरमा लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा योगदान गरेबापत प्राध्यापक कपिल श्रेष्ठलाई ‘जनआन्दोलन स्वर्णपदक’बाट सम्मान गरिएको छ ।
यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दप्रसाद पोखरेलले राजनीतिक पार्टीका दर्शन र विचार सही भएर मात्र नभई नेतृत्व पनि सही हुनुपर्नेमा जोड दिएका छन । कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरको स्मृति दिवस तथा सर्वमान्य नेता गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा उनिहरुको राजनीतिक योगदान, सङ्घर्षमय जीवन, अभूतपूर्व र अतुलनीय योगदान तथा आजको सान्दर्भिकता विषयमा शनिबार पार्टीको जिल्ला कार्यालय लितपुरमा आयोजित विचार गोष्ठीमा उनले नेतृत्व सही भएमात्रै देशको विकास हुनसक्ने भएकाले सही र सिर्जनशील नेतृत्वमा ध्यान दिनुपर्ने बताए ।
“बिपी र गणेशमानलाई पढ्दा राजनीति गर्न मन लाग्छ, तर जनप्रतिनिधि हुन मन लाग्दैन, उहाँहरुमा त्यागको भावनाबाट राजनीतिक प्रणाली परिवर्तन गर्नसक्ने ताकत थियो, नेतृत्वमा रहेका एकार्कामा विश्वास थियो, सुवर्ण शम्शेरले तयार गरिदिएको अर्थतन्त्रकै आधारमा रहेर अहिले देश अगाडि बढिरहेको छ, आधार भएमात्रै सेवा प्रवाह गर्न सकिन्छ, राजनीति भनेको देश बनाउन हो”, उनले भने ।
उनले सुवर्ण शम्शेरले विसं २०१६ मा बजेट ल्याउँदा रोपवे, सडक र पूर्वपश्चिमको सडकको खाका तयार गरेको स्मरण गरे । सभापति जीतेन्द्रकुमार श्रेष्ठले गणेशमानले निरंकुशता हटाउँदै प्रजातान्त्रिक आन्दोलन सफल पार्नका लागि वडाहाकिमसमेत रहेका आफ्ना पिताको आलिसान महल छाडेर डेरामा बसेको स्मरण गरे ।
नेपाल महिला सङ्घ ललितपुरका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका पूर्वउपप्रमुख गीता सत्यालले सुवर्ण शम्शेर र गणेशमानको विचारलाई हामीले भुलेको हो कि भन्ने भान आमजनमानसमा परिरहेको बताइन । कार्यक्रममा कांग्रेस ललितपुर क्षेत्र नं ३(२) का सभापति सुरेन्द्र डङ्गोलले गणेशमान र सुवर्ण शम्शेरको योगदान तथा त्यागलाई हेक्का राख्दै जनताको अपेक्षाअनुरुप विकास निर्माणका गतिविधिलाई प्रभावकारी बनाउन, जनतामा छाएको निराश हटाउन निरन्तर क्रियाशील भएर लाग्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्