काठमाडौं, ७ कात्तिक । सरकार नाङ्गो रुपमा नै दलाल पुँजीपतीको पक्षमा खुल्मखुला लागेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले आरोप लगाएका छन । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीहरुसँगको छलफलमा उनले यस्तो आरोप लगाएका हुन् ।
उपाध्यक्ष सापकोटाले वर्तमान सरकारबाट भएका गलत काममा खबरदारी गर्न यही कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको बताएका छन् ।
प्रेस सेन्टर नेपालका इञ्चार्ज समेत रहेका उपाध्यक्ष सापकोटाले कात्तिक १० गते हुने प्रदर्शनका क्रममा सरकारले एक सय दिनमा गरेका गलत काम राम्रोसँग थाहा पाउने बताए ।
ओली नेतृत्वको सरकार सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने नीति लिएको छ । यसैक्रममा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
यसअघि माओवादीसहितका विपक्षी दलहरुले सुशासनमा सरकार कमजोर भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए । आजै अपराह्न विपक्षी दलहरुले राष्ट्रपतिको समेत ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाले भने, ‘विद्युत् प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, ललिता निवास जग्गा प्रकरणमा मुद्दा खेपिरहेका मीन बहादुर गुरुङसँग १० रोपनी जग्गा र भवनसम्म लिनेसम्म आउँदा सरकारको सुशासन छरपस्ट भएको छ ।’ गुरुङ भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्ति भएकाले उनबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको नेतृत्वको प्राथमिकता थाहा भएकोे बताए ।
प्रतिक्रिया दिनुहोस्