सहकारीमार्फत आयआर्जनमा जोडिँदै दाङका महिला

घोराही (दाङ), २ भदौः पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका हुन् ।

विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् । बेफुर्सदिला हुन थालेका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन् ।

दाङको राप्ती गाउँपालिका–५ सिसहनियामा रहेको सिसहनिया साना किसान कृषि सहकारी संस्थामा आबद्ध हुनुभएका राप्ती–८ पिपरीका बेला नेपाली सहकारीमा जोडिएको एक वर्ष भयो । कृषिसम्बन्धी बीउ, मल पाउँदा उहाँ खुसी हुनुहुन्छ । उहाँले व्यावसायिक रूपमा कृषि व्यवसाय गर्दै आउनुभएको छ ।

उहाँ सहकारीमार्फत सहुलियतमा ऋण लगेर लगानी गरेको बताउनुहन्छ । यस वर्षमात्र घरमा खाएर बचेको चार–पाँच क्विन्टल आलु बेच्ने गरेको उहाँले बताउनुभयो । आफ्नोतर्फबाट धेरै महिला दिदीबहिनीलाई पनि सहकारीमा जोड्न सफल भएको उहाँले बताउनुभयो ।

संस्थामा आबद्ध भएपछि थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको किसान नेपालीले बताउनुभयो । “संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सहकारी संस्थामा मासिक रु पाँच सय बचत गर्दै आएको उहाँ बताउनुहुन्छ ।

उहाँजस्तै सहकारीका अर्का सदस्य राप्ती गाउँपालिका–८ का श्यामकली चौधरी सहकारीमा आबद्ध भएपछि खुसी हुनुहुन्छ । आवश्यक परेको बेला मल, बीउ, कृषि औजारजस्ता सामग्री अनुदानमा पाइने भएकाले कृषि व्यवसाय गर्न सहज भएको उहाँ बताउनुहुन्छ । अहिले १० कठ्ठामा आलुखेती, १७ कठ्ठामा मकैखेती गर्दै आएको उहाँ भन्नुहुन्छ ।

चौधरीले भन्नुभयो, “दुःख नगरेर कृषिमा आम्दानी हुँदैन, आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ ।” दुई–चार रुपैयाँ आवश्यक परेको बेला अरुसँग हात थाप्नुभन्दा आफैँ कृषि व्यवसाय गरेर आम्दानी पनि राम्रो हुँदै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खाली समयमा घरमा बस्नुभन्दा कृषि पेशा आम्दानीको राम्रो स्रोत भएको छ ।” उहाँले कृषि पेशाबाटै मासिक रु १०–१५ हजार बचत गर्ने गरेको बताउनुभयो । चौधरी आफूजस्तै अन्य दिदीबहिनीलाई पनि कुनै न कुनै पेशा–व्यवसायमा जोडिन आग्रह गर्नुहुन्छ ।

सोही ठाउँका सुनिताकुमारी चौधरी पनि नौ महिनादेखि सहकारीमा आबद्ध हुनुहुन्छ । सिसहनिया साना किसान कृषि सहकारी संस्थाबाट समयमा मल पाउने हुँदा उहाँले १८ कठ्ठामा मकैखेती र १४ कठ्ठमा आलुखेती गर्नुभएको छभने मकै लगाउन मेसिन, मकैको बीउ पनि ५० प्रतिशत अनुदानमा प्राप्त गर्दै आउनुभएको छ ।

सिसहनिया साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु गुरुङले विगत सात वर्षदेखि सञ्चालनमा रहेको सहकारीमा महिला मात्र आबद्ध हुँदै आएको बताउनुभयो । हाल संस्थामा आठ सय ४० सदस्य हुनुहुन्छ । सहकारीका सदस्यले विभिन्न कृषिसम्बन्धी सहयोग प्राप्त गर्दै आएको उहाँले बताउनुभयो ।

सहकारीले महिलामा आपसी सद्भाव, सहकार्य, सिकाइ आदानप्रदानका कुरामा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनुभयो । सहकारीबाट सहुलियतमा ऋण लगेर विभिन्न पेशा, व्यवसायमा जोडिएर स्वावलम्बन बन्न सफल भएको उहाँ बताउनुहुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्