राजनीतिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित हुनुपर्ने माग

कैलाली, १७ साउन : नेत्रहीन युवा सङ्घ नेपालले अपाङ्गता भएका व्यक्तिको राजनीतिका साथै सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेको छ ।
सञ्चारमाध्यमार्फत सरोकार भएका पक्षको ध्यानाकर्षण गर्न धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अपाङ्गताको सवालमा सहभागिता र प्रतिनिधित्वको अधिकार सुनिश्चित हुनेगरी नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।
‘अपाङ्गता भएका व्याक्तिको राजनीति र सार्वजनिक निकायमा सहभागिता र प्रतिनिधित्वको अधिकारसम्बन्धी सञ्चारमाध्यमसँगको छलफल’ कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् । नेत्रहीन युवा सङ्घका केन्द्रीय महासचिव अर्जुन रावलले राज्यले निर्माण गर्ने कुनै पनि नीति तथा कार्यक्रममा अपाङ्गताका विषय समावेश गराउन विभिन्न किसिमका दबबामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
“अपाङ्गताका सवालमा विभिन्न स्थानीय तहमा पुगेर ज्ञापनपत्र बुझायौँ, प्रदेश सरकार र विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यसँग बसेर कार्यक्रम गर्‍यौँ, राजनीतिक दलका पार्टी कार्यालय र संसदीय दलका पार्टी कार्यालयमा पुग्यौँ, सङ्घीय तहमा पनि सांसदको संलग्नतामा कार्यक्रम गर्‍यौँ”, उहाँले भन्नुभयो, “यसरी विभिन्न समय र सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको विषय बजेट र नीति तथा कार्यक्रमम समावेश गराउनका लागि दबाबमूलक कार्यक्रम गरिराखेका छौँ । यसको उपलब्धता र सुनुवाइ सन्तोषजनक ढङ्गले भने भएको छैन ।”
सङ्घका केन्द्रीय महासचिव रावलका अनुसार बजेट छुट्याउने काम केही मात्रामा कार्यान्वयन भएको बताउनुभयो । “कार्यक्रममा अपाङ्गताका शब्द उच्चारण गर्न र राख्न थालिएको छ । तर पयाप्त भने छैन”, उहाँले भन्नुभयो
नेत्रहीन युवा सङ्घ नेपाल कैलालीका अध्यक्ष हिमाल रोकायले राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न÷गराउन दबाब सिर्जना गरिने बताउनुभयो । अन्य समाजको व्यक्ति जस्तै अपाङ्गता भएका व्यक्तिलाई पनि सम्मानपूर्वक भावनाले हेरिनुपर्र्नेमा उहाँले जोड दिनुभयो ।
राजनीतिक दलमा अपाङ्गता भएका व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हुनुपर्ने, पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, कुनै पनि नीति निर्माण एवं निर्णय प्रक्रियामा सबै किसिमका आवाजले समोचित स्थान पाउनुपर्नेलगायत माग नेत्रहीन युवा सङ्घले गरेको छ ।
त्यस्तै स्थानीय तहमा अपाङ्गता भएका समुदायको प्रतिनिधित्व नहुने परिस्थिति रहेकाले निर्वाचनमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वका निम्ति आरक्षणको व्यवस्था गरिनुपर्ने, राजनितिक दलका संरचनागत तह र जनवर्गीय सङ्गठनमा अपाङ्ता भएका व्यक्तिको अर्थपूर्ण एवं प्रभावकारी प्रतिनिधित्व हुनुपर्ने, सार्वजनिक भवन र भौतिक संरचना अपाङ्तामैत्री हुनुपर्ने, दलीय आन्तरिक प्रतिस्पर्धा तथा विभिन्न आवधिक निर्वाचनका क्रममा अपाङ्गता भएका व्यक्तिको सहभागिता तथा प्रतिनिधित्वका निम्ति निश्चित सङ्ख्या छुट्याई उनीहरुलाई चुन्ने तथा चुनिने व्यवस्था गर्न/गराउनलगायत विभिन्न माग सङ्घले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्