काठमाडौँ ८ साउनः गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक महिनाभित्र ऐन, नियम, कार्यविधि र नियामाली गृह मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिनुभएको हो ।
उहाँले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय स्थापनाको प्रक्रियाअघि बढाउन पनि निर्देशन दिनुभयो ।
मानव बेचबिखनका गतिविधिमा अध्यागमनका कर्मचारी संलग्न भएका आरोप असत्य साबित हुन् भन्दै उहाँले यदि कुनै कर्मचारीलाई दोषी पाइएमा कडा कारबाही हुने चेतावनी दिनुभयो । अध्यागमन कार्यालयबाट मुलुकको आकृति प्रतिविम्बित हुने भएकाले
सम्बद्ध कर्मचारीलाई सबै यात्रीसँग असल व्यवहार गर्न निर्देशन दिनुभएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
गृहसचिव एकनायारयण अर्यालले पूर्ण क्षमतामा अध्यागमन कार्यालय सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै सरकारी निकायसँग समन्वय गरेर विभागले काम गर्नुपर्छ भन्नुभयो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका कार्यालयसँग समन्वय र सहकार्य हुनुपर्नेमा उहाँको जोड थियो ।
विभागका महानिर्देशक कोशहरि निरौलाले परिवर्तित सन्दर्भमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ र अध्यागमन कार्यविधि, २०६५अनुसार कार्यसम्पादन चुनौतीपूर्ण भएको बताउनुभयो ।
—
प्रतिक्रिया दिनुहोस्