पोखरामा बुद्धिचाल प्रतियोगिता हुँदै

कास्की, ४  साउन : अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे) को एक सयऔँ वर्षका अवसरमा पोखरामा २० वर्षमुनिको खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा पोखरा–१७ विरौटामा यही साउन ४ र ५ गते दुई दिन प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताबारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक तथा मुख्य निर्णायक रामबहादुर क्षेत्रीले लिगका आधारमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार नौ चरणका खेल हुनेछन् । हरेक सहभागी खेलाडीले पूरा चरणमा खेल खेल्नुपर्नेछ । प्रतियोगितामा एक सय १० जना खेलाडीको सहभागिता छ । प्रतियोगितामा हालसम्म महिलातर्फ २२ जना र ८८ जना पुरुष खेलाडीको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।

“यो स्वीस लिगका आधारमा खेलाइने रेपिड रेटिङ टुनामेन्ट हो । प्रतियोगिताको उत्कृष्ट तीन जनालाई हामी विशेष प्रशिक्षणको व्यवस्थासमेत गर्नेछौँ । जसले १०औँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश छनोटमा सहयोग पुग्नेछ”, क्षेत्रीले भन्नुभयो ।

प्रतियोगितामा प्राप्त गर्ने अङ्क अन्तर्राष्ट्रिय बुद्धिचालको वरियतामा रहनेछ । खेलाडीले प्राप्त गरेको अङ्क विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वरियता) मा समावेश हुने बताइन्छ ।

प्रतियोगितामा १० वर्षमुनि २५ जना सहभागी हुनेछन् । यसैगरी १६ वर्षमुनि २५ जना र १९ वर्षमुनि ४५ जना तथा खुलामा १३ जनाले प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष परिवेश थापाले महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता नभई एकै प्रतियोगिता भएको र जसको बढी अङ्क आउँछ उही प्रथम हुने बताउनुभयो ।

पोखरा महानगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितालाई नेपाल बुद्धिचाल सङ्घ र गण्डकी प्रदेश बुद्धिचाल सङ्घले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्