मधेस प्रदेशः आर्थिक विधेयक २०८१ सर्वसम्मतिले पारित

जनकपुर, ३०  असार  । मधेस प्रदेशसभाको आजको बैठकबाट मुख्यमन्त्री तथा अर्थमन्त्री सतिशकुमार सिंहले पेस गर्नुभएको आर्थिक विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ ।

मुख्यमन्त्री सिंहले बजेट बनाउन थोरै समय पाएका कारण करको विषयमा समीक्षा समेत गर्न नसकेको बताउनुभयो । उहाँले प्रदेश सरकारको आम्दानी बढाउन विज्ञहरूसँग परामर्श गरेर यस विषयमा छलफल गरी नीति निर्माण गरेर अगाडि बढ्ने समेत जानकारी दिनुभयो ।

आज बैठकमा छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री सिंहले विगतको सरकारले राखेको करको दायरालाई नै वर्तमान सरकारले यथावत राखेको जानकारी दिनुभयो ।

आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै जसपा नेपालका प्रदेशसभा सदस्य रामअशिष यादवले जनतालाई समस्यामा पारेर कुनै पनि प्रकारको कर लगाउन उचित नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्