बिभिन्न सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ, १७ जेठ । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । बिहीबार बिहान भे१च २५६० नम्बरको जीप  दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी,मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरिखेतमा कार दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा६च ९३७९ नम्बरको कार बुधबार राति अनियन्त्रित भई सडकबाट  दुई सय ५० मिटर तल खोल्सामा खसेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा परेर कार चालक काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकका ६१ वर्षीय सानु परियार, मकवानपुरको मनहरी गाउँपालिका–८ बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनकी तीन महिनाकी छोरी अजिताको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार उक्त दुर्घटनामा घाइते भएकी मनहरी गाउँपालिका–८ बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्